लिभरपुलले उचाल्यो इपिएल ट्रफी

लिभरपुलले ३० वर्षपछि प्रिमियर लिग उपाधि उचालेको छ । ७ खेलअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले एनफिल्डमा चेल्सीलाई ५–३ ले पराजित गर्दै प्रिमियर लिग उपाधि उचालेको हो । सन् १९९३ मा आधुनिक प्रिमियर लिग सुरु भएपछि लिभरपुलको यो पहिलो उपाधि हो ।

घरेलु मदानमा भएको खेलमा लिभरपुलका लागि खेलको २३औं मिनेटमा नेबी केइटाले गोल गर्दै अग्रता दिलाएका थिए । ३८औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र ४३औं मिनेटमा जर्जिनिओ विजनाल्डमले गोल गरेपछि लिभरपुलले ३–० को अग्रता बनायो ।

पहिलो हाफको इन्जुरी टाइममा चेल्सीका ओलिभर जिरुडले गोल गर्दै लण्डन क्लबलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ५५औ मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुको अग्रता ४–१ बनाए ।

त्यसपछि चेल्सीले लगातार दुई गोल फर्काउदा खेल रोमाञ्च बनेको थियो । ६१औं मिनेटमा टमी अब्राहम र ७३औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । ८४औं मिनेटमा एलेक्स च्याम्बरलेइनले गोल गर्दै लिभरपुललाई ५–३ को जित दिलाए ।

लिभरपुलले जितपछि ३७ खेलबाट ९६ अंक जोडेको छ । पराजित चेल्सी भने ६३ अंकका साथ चौथो स्थानमा छ ।

लिभरपुलसँगको हारपछि चेल्सीलाई च्याम्पियन्स लिग छनोटका लागि अन्तिम खेलसम्मै कुर्नुपर्ने भएको छ । चेल्सीले अन्तिम खेलमा वुल्भ्ससँग खेल्दै छ । वुल्भ्ससँग अंक जोड्न सके चेल्सी च्याम्पिन्स लिग छनोट हुने छ । यदि वुल्भ्ससँग पराजित भए पनि चेल्सी च्याम्पियन्स लिगमा छनोट हुन सक्ने छ । त्यसका लािग अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP