शीर्ष स्थानमा फर्कियो मच्छिन्द्र

उपाधि दाबेदार टिम मच्छिन्द्र क्लब पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा क्लबलाई ३–१ ले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा फर्किएको हो ।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, बिशाल राई ‘बी’ र दिपक राईले गोल गरे । संकटाका मेसौके ओलोउमोउले सान्त्वना गोल फर्काएका थिए । संकटाविरुद्ध सानदार प्रदर्शन गरेको मच्छिन्द्रले ४४औं मिनेटमा देवेन्द्रको गोलमा सुरुआती अग्रता लिएको थियो । उनले रन्जित धिमालको कर्नर पासमा हेड मार्फत गोल गरेका थिए ।

६४औं मिनेटमा बिशाल राईले लामो फ्रिककमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ८२औं मिनेटमा दिपक राईले रन्जित धिमालको पासमा गोल गर्दै मच्छिन्द्रको जित सहज बनाएका थिए । संकटाका मेसौकेले ८९औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँग मच्छिन्द्रले १२ खेलबाट २८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको ११ खेलबाट २६ अंक छ । संकटा १५ अंक सहित सातौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.