यसअघिका लागतार दुई पटकको च्याम्पियन मछिन्द्र क्लबले यो सिजन दोस्रो स्थानमा लिग सकाउने पक्का भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पामाथि ३–१को जित जिकाल्दै मछिन्द्रले दोस्रो स्थान पक्का गरेको हो।
यो जितसँगै मछिन्द्रको २५ खेलबाट ४२ अंक छ । अब अन्तिम खेलमा मछिन्द्र पराजित भएपनि तेस्रो स्थानमा नेपाल पुलिस र चौथो स्थानको जावालखेल युथ क्लब उसलाई भेट्ने छैनन्। पुलिसको ३८ र जावलाखेलको ३७ अंक छ।
मछिन्द्रको जितमा ओलावाले आफिजले २ तथा विमल घर्तिमगरले १ गोल गरे भने हिमालयन शेर्पाका पिस्टोन मुटम्बाले गोल गरेका थिए।
२६औं मिनेटमा विमलको गोलमा मछिन्द्रले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो । तर, दोस्रोमा आफिजले गोल गर्दै मछिन्द्रलाई ३–०को अवस्थामा ल्याए। आफिजले ६८औं र ७७औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि दुवै टिम १० खेलाडीमा समेटियो । ८२औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिए भने ८५औं मिनेटमा निशान लिम्बुले रातो कार्ड पाएपछि हिमालयन शेर्पा पनि १० खेलाडीमा समेटियो।
९०औं मिनेटमा हिमालयन शेर्पाका लागि पिस्टोनले फ्रिकिकमार्फत सान्त्वना गोल गरेपछि खेल ३–१मा सकियो । लिगमा ३१ अंक जोडेको हिमालयन शेर्पा आठौं स्थानमा छ।