सिटीलाई शीर्ष स्थानमा ८ अंकको अग्रता
Read Time:1 मिनेट
इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीले विजययात्रा कायम राख्दै अग्रता फलराकिलो बनाउँदै लगेको छ। बुधबार राति सम्पन्न खेलमा ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले दोस्रो स्थानमा रहेको चेल्सीसँग ८ अंकको दूरी बनाएको हो।
ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा सिटीको जितमा फिल फोडेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १६औं मिनेटमै केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए।
जितसँगै सिटीको २० खेलबाट ५० अंक पुगेको छ भने समान खेल खेलेको चेल्सीको ४२ अंकमात्र छ। एक खेल कम खेलेको लिभरपुल ४१ अंकका साथ तेस्रो स्थानमा छ। पराजित ब्रेन्टफर्ड २० अंकका साथ १४औं स्थानमा छ।