इंग्लिस प्रिमियर लिग : साउथह्याम्पटनको पोस्टमा सिटीका आधा दर्जन गोल, चेल्सी दोस्रो स्थानमा

इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले साउथह्याम्पटनविरुद्धको खेलमा आधा दर्जन गोल गरेको छ ।

घरेलु मैदान इत्तिहादमा भएको खेलमा लिग लिडर सिटीले साउथह्याम्पटनलाई ६–१ पराजित गरेको छ । यस्तै क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानमा रहेको लिभरपुल आर्सनलसँग बराबरीमा रोकिएको फाइदा उठाउँदै चेल्सी दोस्रो स्थानमा उक्लिएको हो ।

सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे भने त्यसपछि सर्जियो अगुएरो, डेभिड सिल्भा र लिरोय सानेले १–१ गोल गरे ।
आइतबार राति भएको खेलमा सिटीले वेस्ले होएड्टको आत्मघाती गोलको मद्दतले छैटौँ मिनेटमा नै अग्रता लिएको थियो । यस्तै अगुएरोले १२औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । डेभिड सिल्भाले १८औं मिनेट गोल गर्दै सिटीलाई २० मिनेटभित्रै ३–०को स्थितिमा पु¥याएका थिए ।

यस्तै साउथह्याम्टनका ड्यानी इंग्सले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए । इडर्सनले ड्यानी इंग्सलाई लडाएपछि साउथह्याम्टनले पेनाल्टी पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा राहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ४–१ को अग्रता दिलाए । दोस्रो हाफमा स्टर्लिङले अर्को गोल थपे भने इन्जुरी समयमा लिरोय सानेले गोल गर्दै सिटीलाई सहज जित दिलाए । ११ खेलपछि सिटीको २९ अंकसहित शीर्ष स्थानमा छ ।

क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी दोस्रो स्थानमा
क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल र आर्सनल बराबरी भएपछि गोलअन्तरको आधारमा चेल्सीले लिभरपुललाई उछिनेको हो ।

चेल्सी र लिभरपुल दुवैको २७ अंक नै भएपनि चेल्सी गोलअन्तरका आधारमा दोस्रो स्थानमा उक्लिएको हो । चेल्सीलाई जीत दिलाउन अल्भारो मोराटाले दुई तथा पेड्रोले एक गोल गरे ।

मोराटाले चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफको शुरुवातमा एन्ड्रोस टाउनसेन्डले खेल बराबरी गरेका थिए । त्यसपछि मोराटाले पुनः चेल्सीलाई अग्रता दिलाए भने पेड्रोले जीत सुनिश्चित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *