टोरेसको ह्याट्रिडमा सिटी विजयी

स्पेनिस विंगर फेरान टोरेसको ह्याट्रिक मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ। शुक्रबार राति भएको खेलमा टोरेसले ह्याट्रिक गरेपछि सिटीले न्युकासल युनाइटेडलाई ४–३को पुनरागमन जित निकाल्यो।

घरेलु मैदानमा खेलमा सुरुआती अग्रता पनि न्युकासलले नै लियो । २५ औं मिनेटमा इमिल क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए। तर, ३९ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए।

४२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा जोलिन्टनले पेनाल्टीमा गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

पहिलो हाफमा २–२ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप ३ गोल भयो । जसमा सिटीले २ र न्युकासलले १ गोल गरेको थियो।

६२औं मिनेटमा जोसेप विललकले गोल गर्दै न्युकासललाई ३–२ को अग्रता दिलाए। टोरेसले ६४औं मिनेटमा गोल गर्दै टिमलाई ३–३ को बराबरीमा ल्याए । टोरेसले नै ६६ औं मिनेटमा गोल गर्दै प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेभने टिमलाई ४–३ को जित दिलाए ।

जितसँगै सिटीले ३६ खेलमा ८३ अंक जोडेको यसअघि नै च्याम्पियन बनिसकेको छ । न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा छ ।

Facebook Comments Box