पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको म्यान्चेस्टर सिटीले एफए कप उपाधि जितेको छ। ग्वार्डिओलाको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको सिटी एफए कप उपाधिसँगै ट्रेबल नजिक पुगेको छ।
यो सिजन उसले एफए कप र प्रियिमर लिग उपाधि जितेको छ। अब ऊ च्याम्पियन्स लिग उपाधि नजिक छ। इस्तानबुलमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई हराउन सके उसले ऐतिहासिक ट्रेबल जित्ने छ।
शनिबार भएको म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । वेम्बलीमा भएको फाइनलमा सिटीका लागि दुबै गोल कप्तान गुन्डोगानले गरे।
खेलको पहिलो मिनेटमा नै सिटीले अग्रता लिएको थियो । तर ३३ औं मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले युनाइटेडका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुमै फेरि सिटीले गोल गर्यो । ५१औं मिनेटमा गुन्डोगानले भली गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।
बाँकी समयमा सिटीले त्यही अग्रता जोगायो र उपाधि उचाल्यो।