इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्पेनिस क्लब रियस सोसिडाडमाथि समग्रमा ५–२को सहज जित निकाल्दै युनाइटेड क्वार्टरफाइनलमा पुगेको हो।
पहिलो लेग १–१को बराबरीमा सकिएको खेलको दोस्रो लेगका युनाइटेडले घरेलु मैदानमा सोसिडाडमाथि ४–१को फराकिलो जित निकाल्यो।
युनाइटेडको जितमा कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गरे भने अर्को गोल डिएगो डालोटले गरे। यता, सोसिडाडका मिकेल ओर्यासाबेलले गोल गरेका थिए।
१६औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै फर्नान्डेसले टिमलाई सुरुआती अग्रता दिलाए। १०औं मिनेटमा ओर्यासाबेलले पेनाल्टीमै गोल गरेपछि खेल १–१को बराबरीमा आयो।
पहिलो बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा युनाइटेडले पुनः पेनाल्टी पायो। यो पटक पनि फर्नान्डेसले गोल गरे। खेलमा १ गोलले पछि परेको सोसिडाड ६३औं मिनेटमा १० खेलाडीमा समेटियो। उसका जोन अराम्बुरुले रातो कार्ड पाएका थिए।
सोडिडाड १० खेलाडीमा समेटिएको फाइदा युनाइटेडलाई भयो। फर्नान्डेसले ८७औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई २ गोलको अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा डालोटले गोल गरेपछि युनइटेड ४–१ले विजयी भयो।
यस्तै, अन्य खेलमा जित निकाल्दै लाजियो, लियोन, फ्रांकफर्ट, बोडो ग्लिम्ट पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।