क्लब फुटबलफुटबल

म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ। शनिबार राति भएको खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले नटिङहम फरेस्टलाई ३–२ले हरायो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जितमा क्रिस्टियन एरिक्सन, कासिमिरो र ब्रुनो फर्नान्डेसले गोल गरे भने फरेस्टका ताइवो अवोनियी र विली बोलीले गोल गरे।

युनाइटेडले खेल सुरु भएको चार मिनेटमै दुई गोल खाएको थियो। दोस्रो मिनेटमा फरेस्टका अवोनियीले काउन्टर अट्याकमा गोल गरे। त्यसको दुई मिनेट पश्चात विली बोलीले हेडमार्फत गोल गर्दै फरेस्टलाई २–० को अग्रता दिलाए।

तर त्यसपछि युनाइटेडले सानदार पुनरागमन गर्‍यो। खेलको १७ औं मिनेटमा मार्कस रासर्फडको असिस्टमा क्रिस्टियन एरिक्सनले गोल गर्दै टिमलाई खेलमा फर्काए।

५२ औं मिनेटमा क्यासेमिरोले फर्नान्डेसको पासमा गोल गर्दै सहज गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६७औं मिनेटमा जो वोरल रातो कार्ड खाएपछि फरेस्ट १० खेलाडीमा समेटियो।

७६औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै टिमलाई ३–२को अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड ३–२ले विजयी भयो।