मनाङलाई प्रदेश सरकारले दियाे १० लाख

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीलाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । सहिद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ रोजेपछि फुटबल विकासका लागि भनेर गण्डकी प्रदेश सरकारले मनाङलाई आर्थिक सहयोग गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङको उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गरे।

सरकारले उपलब्ध गराएको सो रकम मनाङले टोलीको व्यवस्थापनलगायतमा खर्च गरिने बताएको छ। यसका साथै प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकीसँग मिलेर मनाङले काम गर्ने सदस्य सचिव गुरुङले बताए।

प्राविधिक र पोखरा रंगशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

मनाङले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै मन्त्री गुरुङले प्रदेश सरकारले १० लाख रुपैयाँ व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गरे।

यस वर्षको सहिद स्मारक लिगअन्तर्गत पाँचाँै चरणको खेलमा आज अपराह्न मनाङले पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबसँग खेल्दै छ । मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक पुलिससँग खेल्न लागेको हो । पोखरामा मनाङले तीन खेल खेल्नेछ ।

Facebook Comments Box