
आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा
मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४–३ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।
दुवै टिम स्टार खेलाडीविना मैदान उत्रिएका थिए । दुवै टिमका स्टार खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्।
खेलको निर्धारित समय र थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मनाङका फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे भने विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
यता, आर्मीका कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे गर्दा दिपक गुरुङको प्रहार पोस्टमा लागेको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।
मनाङले खेलको निर्धारित समयमै जित निकाल्ने सुन्दर अवसर खेर फालेको थियो । ८ औं मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान विमल राना चुकेका थिए । मनाङका अडेलजा सोमिडेको प्रहा डिबक्समा आर्मीका डिफेन्डर युद्ध शाहीको हातमा लागेपछि मनाङले पेनाल्टी पाएको थियो ।
आहा रारा गोल्डकपमा मनाङ १२औं पटक फाइनल पुगेको हो । अब उसले सातौं उपाधिका लागि अर्को विभागीय टिम एपिएफसँग खेल्नेछ।
मनाङ र एपिएफबीचको फाइनल शनिबार हुने छ। विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।