
उपाधि होडमा मनाङलाई थ्री स्टारको धक्का, फाइदा मछिन्द्रलाई
उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दीलाई धक्का लागेको छ। शनिबार भएको खेलमा थ्री स्टार क्लबसँग १–१ गोलको बराबरी खेलेसँगै मनाङलाई उपाधि होडमा धक्का लागेको हो ।
यता, मनाङ बराबरीमा रोकिँदा उपाधि यात्रामा मछिन्द्र क्लबलाई प्रत्यक्ष फाइदा भएको छ। ३ चरणको खेलमात्र बाँकी रहँदा मछिन्द्रले मनाङमाथि ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ। मछिन्द्रको २६ अंक छ भने मनाङको २० अंक छ।
खेलको ६२ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान अन्जन विष्टको क्रसमा पुजन उपरकोटीको स्थानमा मैदान पसेका दयानन्दले हेडर मार्फत गोल गरे ।
तर, खेलको ७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । घानिफोको पासमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टमा लाग्दै जाली चुमेको थियो ।