क्रिस्टल प्यालेससँग हार्‍यो सिटी, रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिगका दुई ठूला क्लब म्यान्चेस्टर सिटी र लिभरपुलले यो साता खराब प्रदर्शन गरेका छन्। शनिबार राति भएको खेल डिफेन्डिङ च्याम्पियन सिटी क्रिस्टल प्यालेससँग २–०ले पराजित हुँदा लिभरपुल ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकियो।

प्रशिक्षक पेप ग्वार्डिओलाको २००औं खेलमा १० खेलाडीमा मसेटिएको सिटी क्रिस्टल प्यालेससँग २–० भयो। सिटीको घरेलु मैदान एतिहास स्टेडियममा भएको खेलको छैटौं मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी टाइममा एमरेक लापोर्टले रातो कार्ड पाए पछि सिटी १० खेलाडीमा समेटियो। ८८औं मिनेटमा कोनोर कालेघरले गोल गर्दै क्रिस्टल प्यालेसलाई २–० को जित दिलाए ।

यसैगरी लिभरपुल ब्राइटनसँग २–२ को बराबरीमा रोकियो। घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल अंक बाँड्न बाध्य भयो। एनफिल्डमा भएको खेलमा चौथो मिनेटमै जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

४१औं मिनेटमा ब्राइटनका एनोक मवेपुले गोल गर्दै गोल ब्राइटनलाई खेलमा फर्काए। ६५औं मिनेटमा आन्द्रे ट्रोसार्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

सिटीलाई हराएपछि क्रिस्टल प्यालेस १० खेलबाट १२ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । सिटी भने २० अंकसहित तेस्रो स्थानमा यथावत छ। यता, २२ अंक जोडेर लिभरपुल दोस्रो स्थानमा छ भने ब्राइटन १६ अंकसहित छैटौं स्थानमा छ ।

Facebook Comments Box