युनाइटेड पराजित हुँदा सिटी च्याम्पियन

म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २–१ले पराजित भएपछि म्यान्चेस्टरकै अर्को क्लब म्यानचेष्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ। लिगका तीन खेल मात्र बाँकी रहेको अवस्थामा मंगलबार राति भएको खेलमा युनाइटेड पराजित भएपछि शीर्ष स्थानमा स्पष्ट १० अंकको अग्रता बनाएकाले सिटी च्याम्पियन बनेको हो।

सिटीको पाचौं लिग उपाधि हो। योसँगै सिटीले प्रिमियर लिग उपाधि सर्वाधिक जित्नेको सूचीमा चेल्सीसँगै दोस्रो स्थानमा उक्लिएको छ। सिटीले पछिल्ला ९ सिजनमा ५ उपाधि जितेको हो भने पछिल्ला ४ वर्षमा तीन उपाधि जितेको छ। उसले पहिलो पटन सन् २०११–१२ मा प्रिमियर लिग उपाधि जितेको थियो ।

प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीको ५ वर्षमा तेस्रो लिग उपाधि हो । यो सिजन सिटी च्याम्पियन्स लिग उपाधि होडमा पनि छ । पहिलो पटक फाइनल पुगेको उसले चेल्सीको सामाना गर्ने छ।

ओल्ड ट्राफोर्डमा भएको खेलको १०औं मिनेटमा लुक थोमसले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा मासोन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए । तर ६६औं मिनेटमा सालर सोएन्चुले विजयी गोल गरे ।

यही नतिजापछि युनाइटेडको ३५ खेलबाट ७० अंक छ र ३५ खेलबाटै सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । युनाइटेडले अब बाँकी तीन खेल जितेपछि सिटीलाई भेट्ने छैन । लेस्टरले भने ३६ खेलबाट ६६ अंक जोड्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

Facebook Comments Box