जिससको गोलमा सिटी विजयी
च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी विजयी भएको छ । ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिसस चोट मुक्त मैदान फर्किएको पहिलो खेलमा गोल गरेपछि सिटीले ओलम्पियाकोसलाई ३–०ले हरायो ।
मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन जिससका अलावा फेरान टोरेस र जोआ क्यान्सेलोले गोल गरेका थिए । टोरेसले १२औं मिनेट केभिन डे ब्रयनको पासमा गाल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलए ।
पहिलो हाफ १–०मै सकियो । ८१औं मिनेटमा डे ब्रुयनकै पासमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । उनी सेप्टेम्बर २१ पछि पहिलो पटक मैदान उत्रिएका थिए । खेलको अन्तिम मिनेटमा क्यान्सेलोले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।
सिटीले च्याम्पियन्स लिग फुटबलमा शतप्रतिशत जित निकालेको छ । नकआउट चरणमा स्थान बनाउन सिटीलाई नोभेम्बर २५ मा ग्रिक क्लबविरुद्ध प्राप्त जित नै पर्याप्त बन्नेछ । समूह सीकै अर्को खेलमा पोर्चुगलको पोर्टोले फ्रान्सेली क्लब मार्सेलीलाई ३–० ले हरायो ।
शीर्ष स्थानको सिटीले ३ खेलबाट ९ अंक जोडेको छ । पोर्टो ६ अंक सहित दोस्रो, ओलम्पियाकोस ३ अंक सहित तेस्रो र मार्सेली अंक विहिन हुँदै पुछारमा छ ।