चेल्सी र युनाइटेडले खेले बराबरी, सिटीले वेस्टह्यामलाई हरायो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। चेल्सीको मैदानमा स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको पहिलो हाफमा चेल्सी हाबी भयो, तर गोल भने हुन सकेन । तर, ५०औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। आफ्ना डिबक्सबाट ब्रुनो फर्नान्डेले दिएको लामो बल मध्यभागमा रहेका जर्गिन्होले क्लिन गर्न नसकेपछि सोही बलमा सान्चोले गोल गरेका थिए।

तर, ६९औं मिनेटमा युनाइटेडका आरोन वान बिसाकाले चेल्सीका थिएगो सिल्भालाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पायो । त्यसमा जर्गिन्होले त्यसमा सहजै गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीपछि १३ खेलबाट ३० अंक जोडेर चेल्सी शीर्ष स्थानमै छ । तर चेल्सीले म्यानचेष्टर सिटीसँग अंकदूरी बढाउने मौका भने गुमायो । सिटी एक अंक मात्र पछि छ । युनाइटेड १३ खेलबाट १८ अंकसहित आठौं स्थानमा छ ।

चेल्सीमाथि दबाब बढाइरहेको सिटीले वेष्टहमलाई २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । सोमबार घरेलु मैदान एतिहाडमा भएको खेलमा सिटीका लागि एल्के गुन्डागोन र फर्नान्डिन्होले गोल गरे । वेष्टहमका मानुएल लान्जिनीले इन्जुरी टाइममा एक गोल फर्काए ।

जितपछि सिटी १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । वेष्टहम १३ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ ।

Facebook Comments Box