
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई हराउँदै स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको अन्तिम १६को दोस्रो लेगमा १-०को जित निकाल्दै एट्लेटिको क्वार्टरफाइनल पुगेको हो ।
यी दुईबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । ओल्डट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे। लोडीले ४१औं मिनेटमा एन्टोनियो ग्रीजम्यानको पासमा गोल गरेका थिए ।
खेलमा एट्लेटिको मड्रिडलाई अधिकांश समय दबाबमा राखेपछि युनाइटेडले गोल गर्न सकेन् । उसले ६१ प्रतिशत बल पोजेसन बनाउँदै १३ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो । यता, एट्लेटिकोले ८ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।
म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगका पछिल्ला १९ खेलमा २ खेलमा मात्र क्लिनसिट राख्न सकेको छ। उसले १९ खेलमा २९ गोल खाएको छ।
यस्तै पोर्चुगिज क्लब वेनफिका डच क्लब अयाक्सलाई समग्रमा ३-२ ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-२ को बराबरी खेलेको वेनफिका दोस्रो लेगमा डार्विना नुनेजको गोलमा अयाक्सलाई १-० ले पराजित गरेको हो ।