मार्को रिउसले जिते २०१८ को वर्षको उत्कृष्ट खेलाडी अवार्ड

बुन्डेसलिगा क्लब डर्टमन्डका क्याप्टेन मार्को रिउसले ‘डिएफबी प्लेयर अफ द इयर २०१८’ को उपाधी जितेका छन । जर्मन फ्यानहरुले गरेको भोटिङका आधारमा हरेक वर्ष जर्मन फुटबल एसोसिएसनले दिँदै आएको सो अवार्ड रिउसले पहिलोपटक जितेका हुन् ।

२०१८ मा राष्ट्रिय टिमका लागि गरेको प्रदर्शनका आधारमा एसोसिएसनले निकालेको सर्टलिस्टमा परेका खेलाडीलाई जर्मनका फ्यानले गरेको भोटिङका आधारमा सो अवार्ड दिइन्छ । रिउसले जम्मा भोटको ३३% भोट पाउँदै वर्षको उत्कृष्ट खेलाडी भएका थिए । उत्कृष्ट खेलाडी हुनेक्रममा उनले बायर्न म्युनिखका जोसुआ किमिच र म्यानचेस्टर सिटीका लेरोय सानेलाई उछिनेका थिए ।

२०१८ को उपलब्धि व्यक्तिगत रुपमा रिउसका लागि अविष्मरिणय रहेपनि जर्मनका लागि भने समग्रमा बिर्सनलायक रह्यो । रसियामा आयोजित विश्वकप २०१८ मा डिफेन्डिङ च्याम्पियनको रुपमा सहभागीता जनाएको जर्मन समूह चरणबाटै लज्जास्पद रुपमा बाहिरिएको थियो । यसैगरी, जर्मन यसै वर्षबाट सुरु भएको युइएफए नेसन्स लिगको पनि समूहचरणबाटै रेलिगेट भएको छ ।

५ वर्षअघि जर्मनको राष्ट्रिय टिममा डेब्यु गरेयता रिउस सधैं चोटग्रस्त भएर महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएका थिए । उनको करियरमा २०१८ मात्र एक यस्तो वर्ष रह्यो जहाँ उनले राष्ट्रिय टिमले खेलेका लगभग सबै खेलमा सहभागी हुन सके । र, सोही वर्ष वर्षकै उत्कृष्ट खेलाडी हुन सफल रहे ।

रिउस बोरुसिया डर्टमण्डका निसन्देह उत्कृष्ट खेलाडी हुन । २०१४ को विश्वकपमा एकल प्रदर्शनमै उनले जर्मनीलाई विश्वकपमा छनोट गराएका थिए । उनको खेलजीवनको सबैभन्दा ठूलो बिडम्बना नै भनौं, चोटका कारण उनले त्यो विश्वकप खेल्न पाएनन् । यद्यपि, मारियो गोट्जेको गोलमा जर्मनीले अर्जेन्टिनाले सो विश्वकप जित्न सफल भयो ।

गोट्जेले ट्रफी वितरण समारोहमा जाँदा रिउसको जर्सी लाएर विश्वकपमा उनको योगदानको उच्च कदर गरेका थिए । र, २०१८ मा आएर जर्मनका फ्यान र फुटबल एसोसिएसनले पनि वर्षको उत्कृष्ट खेलाडी अवार्डले सम्मान गर्दै अन्तत: रिउसको क्षमता र योगदानको पनि उच्च कदर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP