
पाेचेटिनाे भन्छन्- जति गोल गरेपनि एम्बाप्पेले अझै बच्चै छन्
फ्रेन्च क्लब पिएसजीका पूर्व–प्रशिक्षक माउरिसियो पोचेटिनोले एम्बाप्पे अझै बच्चै भएको प्रतिक्रिया दिएका छन् । पोचेटिनो १८ महिना पिएसजीको प्रशिक्षक रहँदा एम्बाप्पे पिएसजीका फरवार्ड थिए ।
उमेरले एम्बाप्पे २३ वर्षका भइसकेका छन् भने विश्वकप २०१८ र जारी कतार विश्वकपमा पनि शानदार प्रदर्शन गरिरहेका एम्बाप्पेका बारेमा उनलाई १८ महिना प्रशिक्षण दिएका प्रशिक्षकबाट यस्तो धारणा आउँदा धेरै चकित पनि परेका छन् ।
पोचेटिनोले पिएसजी छाडेपछि एम्बाप्पेका बारेमा सार्वजनिक रुपमा धारणा प्रकट गरेको यो पहिलोपटक हो। उनका अनुसार एम्बाप्पे अझै ‘मच्योर’ खेलाडी भइसकेका छैनन्।

पिएसजीका टिममेट नेमार र मेसीको उदाहरण दिँदै पोचेटिनोले भने, ‘एम्बाप्पे अझै बच्चै छन्। उनी मच्योर हुनै बाँकी छ। यही केटाकेटीपनले गर्दा उनी मेसी र नेमारजस्तो पूर्ण खेलाडी बन्न सकेका छैनन्।’
‘मेसी र नेमार निकै जिम्मेवार र भरपर्दा खेलाडी हुन्। उनीहरु आफ्नो टिमलाई डोहोर्याउन र हाँक्न सक्षम छन्। तर, एम्बाप्पेले खेलाडीका रुपमा धेरै गोल गरिरहेको भएपनि उनी जिम्मेवार छैनन्। उनी आफ्नो बारेमा मात्र सोच्छन्। यहि गैरजिम्मेवार र केटाकेटीपनका कारण उनकै टिमले उनीमाथि भर गर्न सक्दैनन्,’ पोचेटिनोले भनेका छन्।
एम्बाप्पेले आफु परिवर्तन हुन क्लब परिवर्तन गर्नुपर्ने पनि पोचेटिनोले सुझाव दिएका छन्। ‘एम्बाप्पेले खेलाडी र मानिस दुवैका रुपमा आफुलाई थप विकास गर्न र बलोन डि’ओरको दाबेदारका रुपमा उभिन पिएसजी छाड्नु उचित हुन्छ,’ पोचेटिनोले थपे, ‘सायद रियल मड्रिड जानु उनका लागि फाइदाजनक हुनसक्छ।’
लामो समयदेखि उत्कृष्ट फर्म कायम राख्न सफल एम्बाप्पेले २०१७ मा फ्रेन्च च्याम्पियन पिएसजीमा आबद्ध भएयता १९० गोल गरिसकेका छन्। क्लबमात्र होइन देशबाट पनि राम्रो खेल खेल्दै निरन्तर गोल गरिरहेका छन् । जारी विश्वकप २०२२ मा ५ गोल गरिसकेका एम्बाप्पे अर्जेन्टिनाका लियोनल मेसीसँगै गोल्डेन बुटका दाबेदार पनि हुन् ।