बार्सिलोनाका पूर्वखेलाडी भन्छन्– बार्सिलोना मेसीबाट स्वतन्त्र हुनुपर्छ

स्पेनिस क्लब बार्सिलोना कप्तान लियोजन मेसीबाट स्वतन्त्र हुनु आवश्यक रहेको बार्सिलोनाकै पूर्व खेलाडी अल्बर्ट फेररले बताएका छन् । पछिल्लो समय मेसीमा मात्र निर्भर हुँदा बार्सिलोनाको प्रदर्शन निरन्तार खस्किएको उनको धारणा छ ।

फुटबल म्यागाजिन ‘फोरफोर टु’सँगको कुराकानीका क्रममा फेररले मेसीमा मात्र निर्भर हुँदा बार्सिलोनाको प्रदर्शन कमजोर बनेको र सोही कारण ला लिगा उपाधि गुमाउनु परेको बताएका छन् । स्पेनिस डिफेन्डर फेररले बार्सिलोनाबाट सन् १९९० देखि १९९८ सम्म ८ सिजन खेलेका थिए ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोना यो सिजन दोस्रो स्थानमा रह्यो । उ च्याम्पियन रियल मड्रिडभन्दा ५ अंकले पछि रह्यो । कोरोनाका कारण खेल रोकिँदा बार्सिलोना २ अंकको अग्रतासहित शीर्ष स्थानमा थियो, तर पुनः लिग सुरु भएपछि खराब प्रदर्शन गर्दै उपाधि गुमाउन बाध्य भयो ।

‘यो एक दुःखद् अवस्था हो । अन्य कुनै टोलीले भन्न सक्दैन कि बार्सिलोना कसैमाथि यति धेरै निर्भर छ भनेर,’ फेररले भने, ‘मेसी अहिले पनि निकै उत्कृष्ट खेलिरहेका छन्, त्यो सबैलाई थाहा छ । एक खेलाडीमा मात्र निर्भर भएर उपाधि जित्न सकिँदैन । त्यसैले बार्सिलोना मेसीबाट स्वतन्त्र हुनु आवश्यक छ ।’

अघिल्ला सिजनहरु जस्तै यो सिजन पनि उत्कृष्ट प्रदर्शन गर्दै २५ गोल गरेका मेसी सर्वाधिक गोलकर्ता बने, र पिचिचि अवार्ड जिते । उनले यो सिजन २१ असिस्ट गर्दै ला लिगामा एकै सिजन सर्वाधिक असिस्ट गर्ने कीर्तिमान पनि बनाए ।

फेररले टिममा मेसी हुनु बार्सिलोनाका लागि राम्रो संकेत भएको भन्दै अन्य खेलाडी पनि राम्रो प्रदर्शन गर्नुपर्ने बताए । फेररले भनेका छन्, ‘बार्सिलोनासँग अझै मेसी छन्, त्यो राम्रो हो । टिमलाई नतिजा दिन अन्य खेलाडीहरूले राम्रो खेल्नु पर्छ । मेसीलाई मार्क गर्न गाह्रो हुन्छ, सधैं उनलाई मार्क गर्न नसकिने भन्ने होइन, उनी विपक्षीको घेराबन्दीमा परेकावेला अन्य खेलाडीले त्यसको फाइदा लिनु पर्छ, अनिमात्र राम्रो नतिजा आउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP