
स्कोलानीले भने– मेसीले चाहन्छन् भने अर्को विश्वकपमा पनि १० नम्बरको जर्सी उनका लागि तयार राख्छौं
अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन बन्यो। गत आइतबार सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ले हराउँदै लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो।
प्रतियोगिताभर मेसीसँगै प्रशिक्षक लियोनल स्कोलानी पनि चर्चामा रहे । कठीन अवस्थामा प्रशिक्षक बनेका अर्जेन्टिना च्याम्पियन बनाएका उनी विश्वकप जित्ने कान्छा प्रशिक्षक बने।
अर्जेन्टिना फाइनल पुगेसँगै मेसीले यो नै आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका थिए। त्यसको अर्थ सन् २०२६को विश्वकप खेल्ने छैनन्।
अर्जेन्टिनालाई उपाधि दिलाएका स्कोलानीले मेसीको प्रसंश गरेका छन्। उनले अर्को विश्वकप खेल्न चाहे उनका लागि १० नम्बरको जर्सी सुरक्षित राखिने बताएका छन्।
उनले भनेका छन्, ‘मलाई विश्वास छ, यदि उनले खेल्न चाहेमा अर्जेन्टिनाको १० नम्बरे जर्सी अर्को विश्वकपका लागि मेसीकै लागि तयार राख्नेछौं।’
सन् २००६ को विश्वकप मेसीसँगै खेलका स्कोलानीले आफ्नो फुटबल करियरमा के गर्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार मेसीकै भएको पनि बताए। । ‘उनले जसरी आफ्ना टिमका खेलाडीहरुलाई प्रेरणा दिन्छन् त्यसको म बयान गर्न सक्दिन,’ मेसीको प्रसंशा गर्दै स्कोलानीले भने, ‘मैले ड्रेसिङ रुममा मेसीजस्तो प्रभावशाली खेलाडी अरु कोही देखेको छैन।’
‘कोपा अमेरिकामा ब्राजिललाई पराजित गरेपछि मैले मेसीसँग निकै लामो गफ गरेँ। कोपा अमेरिकाको ट्रफि नै हाम्रो अन्तिम गन्तव्य होइन भनेर बुझाएँ। हाम्रो अगाडी चुनौतीको अर्को एउटा र सबैभन्दा ठूलो पहाड बाँकी रहेको हामीलाई थाहा थियो,’ उनले भने, ‘कोपा जितेपछि सिंगो देशले नै हामीबाट विश्वकप पनि जित्ने आशा गर्न थालिसकेको थियो। हामीलाई पनि जित्न सक्छौं भन्ने आशा त थियो, तर चौतर्फी रुपमा प्रेसर बढिरहेको थियो।’
मेसीले आफूसँग जेजस्तो भएपनि प्रयास जारी राख्नु पर्ने बताएको स्कोलानीले बताए। आफूलाई विश्वकप जित्ने आँट मेसीले गर्दा नै आएको उनले बताए। उनले भने, ‘अब विश्वकप जित्नु बाहेक हाम्रो जिन्दगीमा अर्को केही कुरा महत्वपूर्ण छैन। जसरी पनि जित्नुपर्छ, हामी जितेरै छाड्नेछौं,’ उनले भने, ‘उनले यति भनेपछि मलाई निकै आँट आयो। जित्न सक्छौं भन्ने विश्वास भयो। हामी निकै ठूलो उपलब्धि हासिल गर्ने नजिक पुगिसकेका छौं भन्ने महसुस भयो।’
स्कोलानीले म्याराडोना हामीमाझ नरहेको कुरा सम्झँदा भने निकै नमिठो बताए । उनले भने, ‘उनी अर्जेन्टिनाका सफल खेलाडी मात्र होइनन्, सबैभन्दा ठूला समर्थक पनि हुन्। उनी हामीमाझ भइदिएको भए सबैभन्दा पहिला मैदानमा गएर खुसी मनाउने फ्यान म्याराडोना नै हुने थिए। मलाई विश्वास छ उनी माथिबाट हाम्रो जितमा रमाइरहेका छन्।