विश्वकप छनोटमा फेरि रोकियो अर्जेन्टिना, चिली र उरुग्वे पनि रोकिए

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना लगतार दोस्रो खेलमा बराबरीमा रोकिएको थियो । अघिल्ल्लो साता चिलीसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिना बुधबार बिहान भएको खेलमा कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकियो।

बुधबार बिहान भएको खेलमा सुरुआतमै लिएको २ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना अंक बाँड्न बाध्य भएको हो । अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरो र लिन्ड्रो पेरेडेसले गोल गरेका थिए भने कोलम्बियाका लुइस मुरियल र मिगुइल बोर्जाले गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा पारेडेसले गोल गरेपछि अर्जेन्टिनाले सुरुवातमै २–०को अग्रता लियो। खेलको पहिलो हाफमा २–०मै सकियो।

तर, दोस्रो हाफमा २ गोल गर्दै कोलिम्बियाले उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ५१औं मिनेटमा मुरियलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । इन्जुरी टाइममा कोलम्बियाका बोर्जाले गोल गरेपछि अर्जेन्टिना जितबाट बन्चित भयो ।

यसैगरी बुधबार बिहान नै भएका अन्य खेलमा चिलीले बोलिभियासँग १–१ गोलको बराबरी खेल्दा उरुग्वे भेनेजुएलासँग गोलरहित बराबरीमा रोकियो । यस्तै, पेरुले इक्वेडरमाथि २–१को जित निकाल्यो।

छनोटमा अर्जेन्टिनाको यो लगातार दोस्रो र समग्रमा तेस्रो बराबरी हो । अर्जेन्टिना ६ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा छ । यस्तै ९ अंक जोडेको इक्वेडर तेस्रो, समान ८ अंक जोडेका उरुग्वे र कोलम्बिया चौथो र पाँचौँ स्थानमा छ भने चिली ६ अंकका साथ सातौं स्थानमा छ।

Facebook Comments Box