मेसीलाई अवसर, ब्राजिललाई चुनौती

कोपा अमेरिका अर्थात दक्षिण अमेरिकी फुटबलको महाकुम्भ । दक्षिण अमेरिकी फुटबल अर्थात सुन्दर खेल । हो, त्यही सुन्दर फुटबलको प्रतियोगिता कोपा अमेरिकाको ४६ औं संस्करण आजबाट ब्राजिलमा सुरु भएको छ । फुटबललाई ‘सुन्दर खेल’ हो भन्ने अरु कोही होइनन्, उनी हुन् विश्व फुटबलका महान हस्ती पेले ।

पेलेले समग्र फुटबललाई नै सुन्दर भनेका थिए । तर, दक्षिण अमेरिकी फुटबलको आफ्नै स्वाद छ । आक्रामक र कलात्मक फुटबल खेल्नु दक्षिण अमेरिकी टोलीको विशेषता हो । दक्षिण अमेरिकी फुटबलको स्वाद आजदेखि २२ दिनसम्म फुटबलप्रेमीले लिनेछन् ।

कोपा अमेरिकाको १०३ वर्षको इतिहासमा संस्करणसम्म आठ देशले उपाधि जितेका छन् । अहिले ४६ औं उपाधिको भीडन्त ब्राजिलमा सुरु भएको छ । कोपा अमेरिकाको सबैभन्दा सफल टोली उरुग्वे हो, उसले १५ पटक उपाधि उचालेको छ । यस्तै अर्जेन्टिनाले १४, ब्राजिलले ८, पाराग्वे, चिली र पेरुले दुई–दुई पटक उपाधि जितेका छन् । कोलम्बिया र बोलिभियाले एक–एक पटक उपाधि जितेका छन् ।

कोपा अमेरिकाको ४६औं संस्करणमा आयोजक ब्राजिल, अर्जेन्टिना, उरुग्वे, पाराग्वे, चिली, कोलम्बिया, बोलिभिया, इक्वेडर, पेरु, भेनेजुएलासँगै आमान्त्रित टोलीकारुपमा एसियन च्याम्पियन कतार र एसियाली पावरहाउस जापान पनि उपाधिका लागि भिड्नेछन् ।

आपसमा भिड्दै सहयात्री

ब्राजिलमा सरू भएको ४६ औं संस्करणको उपाधि कसले जित्ला ? फुटबलप्रेमिका मनमा यस्तै प्रश्न उठेका छन् । र, यसमा सबैका आ–आफ्नै धारणा छन् । त्यसको पछाडीको बलिया आधार पनि होलान् । नेपालमा अर्जेन्टिना र ब्राजिलका समर्थक धेरै छन् । सोही कारण नेपाली फुटबल फ्यानका लागि कोपा अमेरिका चासोको विषय हो । जब यी दुई टोली मैदान उत्रन्छन्, समर्थकमा छुट्टै रौनक छाउँछ । समर्थकले आ–आफ्नो टोलीको समर्थन मात्रै गर्दैनन्, बहसमा उत्रिहाल्छन्, एक अर्काको कमजोरी खुट्याउन थालिहान्छन् । आखिर फुटबल समर्थक हुनुको मजा पनि त त्यसैमा छ ।

कोपा अमेरिकाको चर्चा हुनुको अर्को कारण पनि छ, किनकी वर्तमान समयका उत्कृष्ट मध्येका एक लियोनल मेसी देखि युवा प्रतिभा गाब्रियल जेसुससम्म मैदान उत्रनेछन् । कोपा अमेरिका खेल्ने धेरै जसो खेलाडी यूरोपियन क्लबमा चम्किएका खेलाडी छन् ।

कोपा अमेरिका त्यस्तो प्रतिस्पर्धा हो, जहाँ एउटै क्लबबाट खेलेर तहल्का पिटिरहेका स्टार खेलाडी एकअर्का विरुद्ध मैदानमा हुनेछन् । बार्सिलोनाको जर्सी लगाएर एकअर्कासँग तालमेल मिलाइरने मेसी, लुइस स्वारेज र फिलिपे काउटिन्हो एकअर्का विरुद्ध मैदानमा छन् ।

त्यति मात्रै होइन, पेरिस सेन्ट जर्मेन (पिएसजी)को जर्सीमा आक्रमण सम्हालिरहेका एन्डिसन काभानी, एन्जल डि मारिया र डिफेन्स सम्हालिरहेका थियागो सिल्भा, मार्किन्योस फरक–फरक जर्सीमा एकअर्काको विरुद्ध मैदानमा हुनेछन् । एलेक्सिस सान्चेसदेखि जेम्स रोड्रिग्वेजसम्म मैदानमा देखिनेछन् । यिनै स्टार खेलाडीबीचको प्रतिस्पर्धाले दर्शकलाई आकार्षित गर्नेछ । भलै, कोपाको यो संस्करणले ब्राजिलका स्टार नेयमारलाई गुमाएको छ ।

खस्किएको दक्षिण अमेरिकी फुटबल

दक्षिण अमेरिकी फुटबलको आक्रमक, कलात्मक फुटबल दुनियाँका सायदै अन्य महादेशका टोलीले खेल्छन् । युरोप र दक्षिण अमेरिकी फुटबलका आ–आफ्नै शैली छन् । दक्षिण अमेरिकी फुटबलको मुख्य विशेषता खुल्ला शैली हो । खुल्ला शैली भनेको मैदानमा फ्रि फलोइङ र आक्रमणमा ध्यान केन्द्रित गर्नु हो ।

दक्षिण अमेरिकी खेलाडी रणनीतिक क्षमता र स्किलका कारण चर्चित छन् । अझ विशेषगरी ब्राजिलियन खेलाडी स्किलफुल हुन्छन् । ब्राजिलको ‘साम्बा’ शैली मन नपराउने सायदै कोही होला । त्यही ब्राजिलियन शैली दक्षिण अमेरिकामा फैलिएको छ । पेले, डिएगो म्यारोडोना, रोनाल्डो, रोनाल्डिन्हो, लियोनल मेसीदेखि नेयमारसम्म यसकै उदाहरण हुन् । युरोपको व्यवसायिक फुटबलमा चम्किएका दक्षिण अमेरिकी खेलाडीको सूची लामो छ ।

तर, व्यक्ति रुपमा खेलाडी स्किलफुल र उत्कृष्ट भए पनि केही दशक यता दक्षिण अमेरिकाको फुटबलको स्तर भने खस्कँदो छ । अन्तर्राष्ट्रिय फुटबलमा युरोपको दबदबा बढिरहेको छ । सन् २००२ यता कुनै पनि दक्षिण अमेरिकी टोलीले विश्वकप जितेका छैनन् । २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनल पुग्यो, तर उपाधि जित्न सकेन ।

फुटबल विश्लेषकहरू दक्षिण अमेरिकी फुटबलको स्तर खस्किनुको मुख्य कारण व्यवसायिक फुटबल नफस्टाउनुलाई मान्छन् । १८ वर्षको उमेरै क्षमतावान खेलाडी युरोपियन क्लबले किन्छन् । युरोप आएपछि दक्षिण अमेरिकी खेलाडीले यूरोपियन शैलीमा खेल्न थाल्छन् । त्यसैको असरले हो, दक्षिण अमेरिकी फुटबल खस्किएको । त्यसको पछिल्लो उदाहारण हो, रसिया विश्वकपको सेमिफाइनल दक्षिण अमेरिकी टोली विहिन हुनु ।

‘दक्षिण अमेरिकी टोलीका खेलाडी यूरोपका विभिन्न क्लब छरिन्छन्, र यूरोपियन शैलीमा खेल्छन् । राष्ट्रिय टोलीबाट खेल्दा तालमेल मिल्दैन । जसका कारण दक्षिण अमेरिकी मौलिक फुटबलमा असर परिरहेको छ,’ अमेरिकी फुटबल लेखक फोली कास्टोले भनेका छन्, ‘आकर्षक तबल र महँगो मूल्यमा दक्षिण अमेरिकी खेलाडीलाई यूरोपियन क्लबले अनुबन्ध गर्छन् । जबसम्म यो क्रम रोकिँदैन, तबसम्म दक्षिण अमेरिकी फुटबल यूरोपको छाँयामा रहनेछ ।’

मेसीको परिक्षा, ब्राजिल प्रतिष्ठा

कोपा अमेरिकाको यो संस्करण मेसीको करियरमा अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भवतः अन्तिम मौका हुन सक्छ । सन् २०१४ को विश्वकप, २०१५ र १६ को कोपा अमेरिकाको फाइनल खेलेर पनि मेसी अन्र्तराष्ट्रिय उपाधिबिहीन छन् । बार्सिलोनाबाट मेसीले जित्न बाँकी केही छैन । तर, अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेकामा भने उनी आलोचित हुने गरेका छन् ।

सन् २०१६ कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले सन्न्यास घोषणा गरे । सायद आफ्नै भाग्य सम्झेर उनमा निराशा जागेको थियो । पुनः उनमा अन्तर्राष्ट्रिय उपाधिको भोक जागेको हुन सक्छ, त्यसैले त उनले सन्यास फिर्ता लिए । रसिया विश्वकपमा टोलीका नेतृत्व गरे, तर अर्जेन्टिनाले अन्तिम १६ भन्दा अघिको यात्रा तय गर्न सकेन ।

पुनः मेसीले कोपा अमेरिकामा अर्जेन्टिनाको नेतृत्व गरिरहेका छन् । उनले नेतृत्वमा मात्रै गर्ने छैनन्, उपाधि जित्ने अभिलासा समेत बोकेका छन् । त्यसैले त उनले भनेका छन्, ‘राष्ट्रिय टोलीबाट उपाधि नजिती सन्यास लिन्नँ ।’ मेसीको यो अभिव्यक्तिसँग ब्राजिलका लिजेन्ड रोबर्टो कार्लोस समेत सहमत छन् । ‘मेसी देशका लागि अभागी खेलाडी हुन्, उनी अन्तर्राष्ट्रिय उपाधि जित्न चाहन्छन्,’ कार्लोसले भनेका छन् ।

सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमा इतिहासकै लज्जास्पद असफलता भोगेको ब्राजिल फेरि घरमै अर्को असफलता थप्न चाहाँदैन । सन् २०१४ को पीडा भुलाउने ब्राजिलको प्रयास रसिया विश्वकपमा सफल हुन सकेन् । अब घरेलु मैदानमा समर्थक माझ खुसी फर्काउनुपर्ने चुनौति ब्राजिलका सामु छ ।

तर, उसको यो अभियानमा आशंका उब्जाएको छ, नेयमारको चोटले । तर पनि गत आइतबार होन्डुसर विरुद्धको ७–० को नतिजा निकाल्दै ब्राजिलले संकेत गरेको छ, ‘नेयमार नहुँदा पनि हामी कमजोर छैनौं र उपाधिका बलिया दाबेदार हौं ।’

ब्राजिललाई विश्वकप र कोपा अमेरिका जिताएका कार्लोसको भनाइ मान्ने हो भने, कोपाको यो संस्करणको फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्नेछन् । ‘यसपाली ब्राजिल र अर्जेन्टिनाले फाइनल खेलेको हेर्न मन छ,’ उनले भनेका छन् ।

कोपाको यो संस्करण मुख्यरुपमा मेसीको परिक्षा र ब्राजिलको प्रतिष्ठाको लडाइ हुनेछ । सँगै सर्वाधिक सफल टोली उरुग्वे, चिली, कोलम्बिया समेत उपाधि दौडमा रहनेछन् । आमन्त्रित टोलीकारुपमा प्रतियोगिता खेल्न लागेका जापान र कतार सरप्राइज बन्न सक्ने सम्भावना समेत छ । कोपाको ४६ औं संस्करण कसले जित्ला ? प्रतिक्षा ७ जुलाई, राति १ः४५ र फाइनलको !

(नयाँपत्रिका डेली डटकमबाट)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.