मेसी सर्वोत्कृष्ट फुटबलर होइनन् : पेले

‘मेसीसँग केबल एकमात्र फुटबल स्किल मात्र छ । मेसीभन्दा त म्याराडोना धेरै उत्कृष्ट फुटबलर हुन्’, ब्राजिलियन लेजेन्ड तथा सर्वकालिन महान फुटबलर पेलेले दाबी गरे ।

ला लिगा च्याम्पियन बार्सिलोनाका लागि विगत एक दशकदेखि फुटबलको जादु देखाइरहेका मेसीलाई फुटबलका महान खेलाडीमध्ये एक मानिन्छ । मेसी फुटबलले पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हुन् भनेर दाबी गर्नेको पनि कमि छैन । पाँचपटक बलोन डि’ओर जितेर अनगिन्ति रेकर्ड आफ्नो नाममा राखेका मेसीका बारे त्यस्तो भनिनु अचम्मको कुरा पनि होइन ।

तर, पेले भने मेसीलाई उत्कृष्ट फुटबलरमा गनेनन् । पेलेको विचारमा फुटबलका अन्य उत्कृष्ट खेलाडीको तुलनामा ३१ वर्षिय अर्जेन्टाइन फरवार्ड बहुआयामिक छ्रैनन् । ‘फोल्हा डे साओ पाउलो’लाई दिएको अन्तरवार्तामा पेलेले भने, ‘एउटामात्र खुट्टाले सट हान्ने, एक किसिमको मात्र स्किल भएको र राम्रोसँग हेडिङ गर्न नसक्ने खेलाडीको तुलना तपाईहरु कसरी देब्रे–दाहिने दुवै खुट्टाले सट हान्ने र खतरा हेडिङ गर्ने खेलाडीसँग गर्नु हुन्छ ?’

‘के आधारमा तुलना गर्नु हुन्छ ? पेलेजस्तो खेलाडीसँग तुलना गर्नको त्यो खेलाडी देब्रे–दाहिने दुवै खुट्टाले मात्र होइन हेडिङबाट पनि गोल गर्न सक्ने हुनुपर्छ’, पेलेले बताए । आफ्नो फुटबल करियरमा १२०० भन्दा बढी गोल गरेका र ३ पटक विश्वकप जितेका पेलेले आफुमात्र होइन अन्य केही खेलाडीपनि मेसीभन्दा धेरै उत्कृष्ट रहेकोमा जोड दिए ।

मेसीभन्दा म्याराडोना धेरै राम्रो खेलाडी भएको पनि पेलेले ठोकुवा गरे । ‘जहाँसम्म मलाई लाग्छ म्याराडोना फुटबलका सर्वकालिन महान खेलाडीमा पर्छन् । मेसीभन्दा उनी कैयौं गुना उत्कृष्ट थिए । म्याराडोनामात्र होइन फ्रान्ज बेकेनबाउर र जोहान क्रुफपनि मेसीभन्दा उत्कृष्ट खेलाडी थिए’, पेलेले थपे ।

पेलेले मेसीलाई उत्कृष्ट खेलाडीको सुचिमा निकै तल राखेतापनि मेसीले बार्सिलोनाका लागि खेल्न थालेयता  हासिल गरेका उपलब्धीलाई नजरअन्दाज गर्न भने सकिँदैन । मेसीले बार्सिलोनाका लागि ६५३ खेलमा ५६७ गोल गरेका छन् भने अर्जेन्टिनाका लागि १२८ खेलमा ६५ गोल गरेका छन् ।

मेसीले ५ गोल्डेन बल, ९ ला लिगा, ४ च्याम्पियन्स लिग र ३ क्लब वर्ल्डकप जितेका छन् । क्लबस्तरमा मेसीले जित्न बाँकी सायदै कुनै उपाधि होला तर अन्तर्राष्ट्रियस्तरमा भने मेसीले ओलम्पिक मेडल बाहेक केही जित्न सकेनन् । विश्वकप र कोपा अमेरिकाको फाइनलमा बेहोरेको पराजयको सम्झना मेसीका लागि सधैं पिडादायक रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP