मेसी नै एकमात्र महान खेलाडी : इडेन हाजार्ड

इडेन हजार्ड बेल्जियमको राष्ट्रिय टिमको मात्र होइन चेल्सीको पनि भरपर्दा खेलाडी हुन् । जब उनको खुट्टामा बल हुन्छ विपक्षीमा खैलाबैला हुन्छ । ३–४ जनाले नघेरेसम्म उनको खुट्टाको बल खोस्न मुश्किल नै हुन्छ । हजार्डको खेलकौशल देख्दा कहिलेकसो मेसीको झल्को आउँछ । सायद त्यसैले हजार्डको मेसीसँग तुलना गर्नेहरु पनि धेरै छन् ।

तर, हजार्ड आफैले भने मेसी फुटबलको इतिहासकै सबैभन्दा महान खेलाडी रहेको बताएका छन् । विगत एक दशकदेखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीले फुटबलमा एकछत्र राज गरिरहेका छन् । एक दशकमा दुईजनाले फुटबलमा बनेका लगभग सबै रेकर्ड तोडे ।

यस्तो अवस्थामा स्वभावतः मेसी र रोनाल्डोबिच अझ कडा प्रतिस्पर्धा छ । अहिले फुटबलको सबैभन्दा ठूलो विवाद नै मेसी र रोनाल्डो मध्ये को महान भन्ने रहेको छ । यो विषयमा फुटबल समर्थकहरु दुई ध्रुवमा बाँडिएका छन् ।

यस्तो अवस्थामा रोनाल्डो र मेसीसँग तुलना गरिने अर्का खेलाडी हजार्डले भने मेसीको पक्ष लिए । फुटबलमा एकैसमय दुई महान खेलाडी हुन नसक्ने हजार्डको मान्यता छ । त्यसैले वर्तमान फुटबलका एकमात्र महान खेलाडी मेसी रहेको उनले बताएका छन् ।

२०१८ मा हजार्डको चेल्सीले २ पटक बार्सिलोनाको सामना गर्‍यो, दुवै खेलमा मेसीकै प्रेरणामा बार्सा विजयी भयो । ‘बार्सिलोनाविरुद्धको दुवै भिडन्त सुखद रहेन । बार्सामा मेसी थिए, बार्सा विजयी भयो । मेरो खेल मलाई नै चित्त बुझेन, म त्योभन्दा राम्रो खेल्न सक्छु भन्ने मलाई लाग्छ । मैले जति राम्रो खेलेपनि उनीसँग तुलना गर्न मिल्दैन’, हजार्डले बेल्जियन मिडिया एचएलएनलाई भनेका छन् ।

हजार्ड उनका ३ छोरासँग बसेर फुटबल हेर्ने गर्छन् । स्टामफोेर्ड ब्रिजमा भएका सबै खेलमा उनका तिनैजना छोरा उनको खेल हेर्न आउने गर्छन् । तर, बार्साविरुद्धको च्याम्पियन्स लिग भिडन्तमा भने उनका छोराहरु उनको होइन मेसीको खेल हेर्न मैदानमा आएको हजार्डले खुलासा गरे ।

‘मेरो जेठो छोरो मेसीको ठूलो फ्यान हो । वास्तवमा हामी सबै मेसीका फ्यान हौं । मैले त उसको नाम नै लियो राखेको छु’, हजार्डले रहस्य खोले ।

हजार्ड गत विश्वकप सकिएलगत्तै रियल मड्रिड जाने हल्ला चलेको थियो । रियलले सिजनको सुरुवातमा आफ्ना स्टार खेलाडी रोनाल्डो युभेन्टसलाई बेचेपछि उनको स्थान लिन रियलको पहिलो रोजाइमा हजार्ड नै छन् ।

हजार्ड जारी सिजनको समाप्तिपछि रियल जाने प्रबल सम्भावना छ । यदि त्यस्तो भएमा एल क्लासिकोमा हजार्ड र मेसीको घम्साघम्सी फेरी रोमाञ्चक हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP