सलाहा चम्किँदा लिभरपुल विजयी

इजिप्ट स्ट्राइकर मोहमद सालाह चम्किएको खेलमा लिभरपुल विजयी भएको छ । बुधबार राति भएको खेलमा सलाहले दुई गोल गरेपछि प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्राइटनलाई ३–१ले पारजित गरेको छ ।

सालाहले छैटौं मिनेटमा लिभरपुललाई अग्रता दिलाए । कप्तान जोर्डन हेन्डरसनले आठौं मिनेटमा पाहुना लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिन्ड्रो ट्रोसर्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर, सालाहले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए ।

यस सिजनको च्याम्पियन लिभरपुलले महत्वपूर्ण तीन अंक बटुलेको छ । जितसँगै लिभरपुल कीर्तिमानी अंकतर्फ अघि बढेको छ । लिभरपुल यस सिजन सिटीले कायम राखेको सय अंकको कीर्तिमान पार गर्न चाहन्छ ।

लिभरपुलले यस सिजन ३४ मध्य ३० खेलमा जित हासिल गरेको छ । शीर्ष स्थानको लिभरपुलले ९२ अंक बटुलेको छ । ब्राइटन ३६ अंक सहित १५ औं स्थानमा छ ।

यसैगरी बुधबार राति नै भएको अर्कोे खेलमा बर्नेलीले वेस्टह्यामलाई १–०ले हराउँदा सेफिल्ड युनाइटेडले वुल्भ्सलाई पनि १–०ले नै हरायो । सेफिल्ड ५१ अंकका साथ सातौं र वुल्भ्स ५२ अंकका साथ छैठौं स्थानमा छन् । वेस्टह्याम ३१ अंकका साथ १६औं र ४९ अंकका साथ बर्नेली नवौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.