युरोपा लिग : लेस्टर सिटी र नापोली पराजित, वेस्टह्याम विजयी

युरोपा लिग फुटबलमा इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोली पराजित भएका छन्। बिहीबार राति भएको खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सजावासँग १–०ले पराजित हुँदा नापोली स्पार्टक मस्कोले ३–२ले पराजित भयो।

लेस्टर पराजित हुँदा अर्को इंग्लिस क्लब वेस्टह्याम भने विजयी भएको छ । वेस्टह्यामले घरेलु मैदानमा रापिड विनमाथि २–०को जित निकाल्यो। वेस्टह्यामको जितमा २९औं मिनेटमा डेक्लन रिस र दोस्रो हाफको इन्जुरी समयको सइद बेनरामाले गोल गरेका थिए।

यसैगरी इटालियन क्लब नापोली स्पार्टक मस्कोसँग ३–२ले पराजित भएको छ । मस्कोका लागि क्विन्सी प्रमेसले २ तथा मिखाइल इघान्टोभले गोल गरेका थिए भने नापोलीका इलिफ इल्मस र भिक्सर ओसिम्हेनले गोल गरेका थिए। खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरेका थिए । नापोलीका मारियो रुइले ३०औं मिनेटमा रेडकार्ड पाउँदा मस्कोका माक्सिमिलियानो काउफ्रिजले ८२औं मिनेटमा रेडकार्ड पाएका थिए ।

बिहीबार राति नै भएका अन्य खेलमा फ्रांकफर्ट, लियोन, पिएसजी इन्डहोभन, ओलम्पियाकोस, रियल बेटिस, लाजियो, बार्यर लेभरकुसेन विजयी हुँदा रियल सोसिडाड र एएस मोनाकोले १–१ गोलको बराबरी खेलेका छन्।

Facebook Comments Box