यस्तो हुनेछ त्रिदेशीय फुटबलमा नेपालको जर्सी

मंगलबारदेखि सुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टिमले नयाँ जर्सी लगाएर खेल्ने भएको छ । नेपाली टिमले केटीएम सिटीले बनाएको जर्सी लगाएर फुटबल खेल्ने भएको हो ।

यसअघि केल्मीले फुटबल टिमको जर्सी लगायत खेल सामाग्री प्रयोग गर्दै आएको थियो । तर केल्मीसँग सम्झौता सकिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले जर्सीको लागि खुल्ला आवदेन माग गरेको थियो ।

जसबाट केटीएम सिटी छनोट भएको छ । तर एन्फाले यसबारे आधिकारिक रुपमा सार्वजनिक गरिसकेको भने छैन । यद्यपि त्रिदेशीय फुटबलका लागि नेपाली टिमले प्रयोग गर्ने आधिकारिक जर्सी भने केटीएम सिटीकै भएको एन्फले जनाएको छ। सोमबार म्यानेजर मिटिङमा केटीएमकै जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल, बंगलादेश र कीर्तिस्तान सम्मिलित प्रतियोगिता दशरथ रंगशालामा चैत १० गतेदेखि १६ गतेसम्म हुनेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने छ प्रतियोगितामा लिगका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्।

प्रतियोगिताको उद्घाटन खेल १० गते बंगलादेश र किर्गिस्तानबीच हुनेछ। नेपालले पहिलो खेल चैत १२ गते किर्गिस्तान र १४ गते बंगलादेशसँग खेल्ने छ। प्रतियोगिताको फाइनल १६ गते हुने छ। सबै खेल साँझ ५ः३०मा सुरु हुनेछ।

प्रतियोगिताको विजेताले ५ हजार, उपविजेताले ३ हजार डलर पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर पाउने छन्। प्रतियोगिताका लागि एन्फाले साधारणतर्फ ७ सय र भिआइपीतर्फ १५ सय रुपैयाँ टिकटको मूल्य तोकेको छ। प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.