रश्मीको ह्याट्रिकमा आर्मी विजयी

स्ट्राइकर रश्मी घिसिङ चम्किएपछि काठमाडौंमा जारी राष्ट्रिय महिला फुटबल लिगमा त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ । आइतबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा रश्मीले ह्याट्रिक गरेपछि आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ले हरायो ।

आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् भने विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् ।

१०औं मिनेटमा रश्मीको गोलमा आर्मीले सुरुवाती अग्रता लियो। २२औं मिनेटमा रश्मीले नै गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । २३औं मिनेटमा विमलाले गोल गरेपछि आर्मीले ३–०को अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनीले गोल गरेपछि पहिलो हाफ ३–१मा सकियो ।

५०औं मिनेटमा रश्मीले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरिन्, र आर्मीलाई ४–१को अवस्थामा ल्याइन् । ५६औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५–१ को अग्रता बनायो । ६१औं मिनेटमा रश्मीले नै चौथो गोल गरेपछि आर्मीले चन्द्रपुरमाथि ६–१को जित निकाल्यो ।

लिगमा आठौं जित निकालेको आर्मी २५ अंकसहित दोस्रो स्थानमा छ । पराजित चन्द्रपुर ६ अंकसहित छैटौं स्थानमा छ । शतप्रशित नतिजासहित २७ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ ।

प्रतियोगिता सोमबार एपीएफ र नेपाल पुलिस तथा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका भिड्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.