सावित्राको दोहोरो ह्याट्रिकमा एपिएफको सहज जित

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रका भण्डारीले दोहोरो ह्याट्रिक गरेपछि काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफले फराकिलो जित हात पारेको छ । सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सावित्राले ८ गोल गरेपछि एपिएफले उदयपुरको चौडण्डीगढी नगरपालिकालाई १४–०ले हरायो ।

फराकिलो जितसँगै एपिएफले आफ्नो शतप्रतिशत जितलाई ७औं खेलसम्म निरन्तरता दिएको छ । एपिएफको जितमा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले २–२ गोल गर्दा अनु लामा र रविना गोलेले पनि समान १ गोल गरे । एपिएफले दुवै हासमा समान ७ गोल गरेको थियो ।

सावित्राले चौथो मिनेटमा गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । १८औं मिनेटमा सावित्राले नै एपिएफको अग्रता दोब्बर बनाइन् । २४औं मिनेटमा अनिता केसी गोल गरेपछि ३–०ले अघि रहेको एपिएपका लागि सावित्राले ३७औं मिनेटमा चौथो गोल गरिन् ।

त्यसपछि ३९औं मिनेटमा अनिता केसीले ४३औं मिनेटमा सावित्राले र ४५ मिनेटमा अनिता बस्नेतले गोल गर्दा एपीएफले पहिलो हाफमा ७–०को अग्रता लियो।

दोस्रो हाफमा सावित्राले ५३, ५६, ७२ र ८६औं मिनेटमा गोल गर्दा ६५औं मिनेटमा अनिता बस्नेत, ७५औं मिनेटमा अनु तथा ७९औं मिनेटमा रबिनाले गरेपछि एपीएफ १४–०ले विजयी भयो ।

जितपछि एपिएफ २१ अंकका साथ शीर्ष स्थानमा छ भने चौदण्डीगढी अंकबिहीन हुँदै तालिकाको पुछारमा छ । यी दुईबीच भएको पहिलो चरणमा एपिएफले चँैदण्डीगढीलाई २४–०ले हराएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.