अन्तिम समयमा सम्हालिन नसक्दा फिलिपिन्ससँग हार्‍यो नेपाल पराजित

एएफसी महिला एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ। उज्वेकिस्तानमा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाएर जित तर्फ अग्रतसर भएको नेपाल अन्तिम ५ मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग २–१ले पराजित भयो।

खेलमा नेपालका लागि विमला चौधरीले गोल गरेकी थिइन् भने फिलिपिन्सका लागि तहनाइस अन्नी र कामिल विल्सनले गोल गरेकी थिइन्।

फिफा वरियताम ३३ स्थान माथि रहेको फिलिपिन्सविरुद्ध नेपालले खेलको १०औं मिनेटमा अग्रता लियो । नेपालकी विमला चौधरीले हेडिङमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

विमला पहिलो हाफमा पुरा समय मैदानमा रहन भने सकिनन् । उनी ३९औं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भइन् । उनको स्थानमा स्ट्राइकर अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्।

सुरुआतमै लिएको अग्रता नेपालले अन्तिम समयसम्म जोगाउँदै जिततर्फ अग्रसर भएको थियो । तर, अन्तिम ५ मिनेटमा डिफेन्सको गल्तीमा २ गोल खाँदै नेपाल पराजित भयो ।

९०औं मिनेटमा तहनाइसले गोल गर्दै फिलिपन्सलाई खेलमा फर्काइन् भने इन्जुरी समयको दोस्रो मिनटमा अन्नीले गोल गर्दै फिलिपिन्सलाई जित दिलाइन्।

यो हारले नेपालको एसियन कप खेल्ने सम्भावना कमजोर बनेको छ। समूहको शीर्षस्थानको टिम मात्र एसियन कपमा छनोट हुनेछ। समूह एफमा रहेको नेपालले दोस्रो खेलमा हङकङको सामाना गर्ने छ। खेल असोज ५ गते हुने छ।

Facebook Comments Box