रोमाञ्चक खेलमा श्रीलंकामाथि नेपालको जित

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले लागतार दोस्रो जित निकालेको छ। सोमबार राति मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक खेलमा नेपालले श्रीलंकामाथि ३–२को जित निकाल्यो।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गर्दा श्रीलंकाका लागि मार्विन ह्यामिल्टन र डिलोन डे सिल्भाले गोल गरेका थिए। खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ४ गोल भएको थियो।

३३औं मिनेटमा मिडफिल्डर सुमन लामाले गोल गर्दै नेपालाई सुरुआती अग्रता दिलाए । सन् २०१९मा राष्ट्रिय टिममा डेब्यू गरेका सुमनको यो पहिलो गोल हो ।

पहिलो हाफमा १–०ले अग्रता लिएको नेपालले ५१औं मिनेटमा अग्रता दोब्बर बनायो । ५१औं मिनेटमा अन्जन विष्टले गोल गरेका थिए । ५७औं मिनेटमा ह्यामिल्टनले गोल गर्दै श्रीलंकालाई खेलमा फर्काउने प्रयास गरे। उनले डे सिल्भाको पासमा गोल गरेका थिए।

८६औं मिनेटमा नेपालले पुनः गोल थप्यो । यो पटक तेज तामाङको पासमा युव विंगर आयुष घलानले गोल गरे । यो उनको राष्ट्रिय टिमका लागि पहिलो गोल हो। उनले यसै वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

रास्टि्रय टिमका लागि पहिलाे गाेल गरेपछि युवा विंगर आयुष घलान ।

इन्जुरी समयको चौथो मिनेटमा श्रीलंकाका डे सिल्भाले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। उनले प्राप्त पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि गोल नहुँदा नेपाल विजयी भयो।

प्रतियोगितामा लागातार दोस्रो जितसँगै नेपाल ६अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–०ले हराएको थियो। यता, श्रीलंकाको भने यो लागतार दोस्रो हार हो। उद्घाटन खेलमा उ बंगलादेशसँग १–०ले पराजित भएको थियो।

अब नेपालले तेस्रो खेल भारतसँग खेल खेल्ने छ। खेल आगामी आइतबार राति ९ः४५ बजे हुनेछ।

Facebook Comments Box