नयाँ फिफा र्‍याङ्किङमा नेपालको अंक घट्यो, वरियता भने यथावत

फुटबलको सर्वोच्च नियामक संस्था फिफाले नयाँ फुटबल वरियता सार्वजनिक गरेको छ। १६ सेप्टेम्बरको ताजा फिफा र्‍याङ्किङमा नेपाल साबिककै १६८औं स्थानमा यथावत रहेको हो।

वरियतामा तलमाथि नभएपनि नेपालले अंक भने गुमाएको छ। हाल नेपाल ९७०.९५ अंकसहित १६८औं स्थानमा रहेको छ। पछिल्लोपटक १२ अगस्ट, २०२१ मा सार्वजनिक भएको वरियतामा सोही स्थानमा रहँदा नेपालको ९७२.१९ अंक थियो। नेपालले १.२४ अंक गुमाएपनि यथास्थानमा रहन सफल भएको हो।

दक्षिण एसियाली राष्ट्रमध्ये भने नेपाल तेस्रो स्थानमा छ। १०७औं स्थानमा रहेको भारत र १५८औं स्थानमा रहेको माल्दिभ्सले नेपाललाई सार्कको वरियताक्रममा पछि पारेका छन्। नेपालभन्दा तल रहेका ४ वटा देशमा बंगलादेश (१८९औं), भुटान (१८७औं), पाकिस्तान (१९८औं) र श्रीलंका (२०५औं) रहेका छन्।

यस्तै, विश्व वरियताको शीर्षस्थानमा पनि बेल्जियम नै यथावत रहेको छ। दोस्रो स्थानमा ब्राजिल उक्लिएको छ भने तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र युरोविजेता इटाली पाँचौं स्थानमा रहेका छन्।

Facebook Comments Box