एकैदिन पुलिसका २ खेल, एउटामा जित, अर्कोमा हार

विभागीय टिम नेपाल पुलिस क्लबले एकैदिन दुई नकआउट प्रतियोगिता खेलेको छ । पुलिसले बिहीबार धरानमा बुढासुब्बा गोल्डकप खेल्यो भने धनगढीमा खप्तड गोल्डकप ।

बुढासुब्बा गोल्डकपमा लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई हराउँदै फाइनल पुगेको पुलिस धनगढीमा भने अर्को विभागीय टिम एपिएफसँग पराजित हुँदै खप्तड गोल्डकपबाट बाहिरियो ।

एक दिन दुई छुट्टाछुट्टै प्रतियोगिता खेलेको पुलिसका दुवै खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । धरानमा पुलिसले सडनडेथमा मच्छिन्द्रलाई ५–४ले हराउँदा धनगढीमा पुलिस एपिएफ क्लबसँग ४–३ले पारजित भयो ।

धरान रंगशालामा बिहिबार भएको मच्छिन्द्र र पुलिसबीचको खेल प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल गोलरहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।

सडन डेथमा मच्छिन्द्रका कप्तान विराज महर्जनको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाए भने पुलिसका कपिल ढकालले गोल गरे ।

टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पदम भट्टराई, तिर्थ मगर र जुमानु राईले गोल गरे । सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । पाँच पटकको बुढासुब्ब गोल्डकप च्याम्पियन पुलिसले अब उपाधिका लागि मनाङ मस्र्याङ्दीसँग खेल्ने छ ।

यता, धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपमा पुलिस क्वार्टरफाइनलबाटै बाहिरियो । कैलाली हसनपुरस्थित धनगढी रंगशालामा बिहिबार भएको खेलमा पुलिस एपिएफसँग टाइब्रेकरमा ४–३ले पराजित भयो ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा एपीएफका सुदिप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे । नविन लामाको प्रहार भने पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए ।

यस्तै, पुलिसका सौजन राई , तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । अजित भण्डारीको प्रहार एपीएफका गोलकिपर रोमन रसाइलीले बचाए भने भरत शाहको प्रहार पोस्टमा लागेर बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *