साफ च्याम्पियनसिप आयोजना गर्न नेपालले राख्यो औपचारिक प्रस्ताव

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिप आयोजना गर्नका लागि औपचारिक प्रस्ताव पेश गरेको छ। एन्फाले दक्षिण एसियाली फुटबल संघ (साफ)मा १३औं साफ आयोजनाका लागि विस्तृत योजनासहितको प्रस्ताव पेश गरेको हो।

यसअघि बंगलादेशले प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। तर, कोभिड–१९ को कारण देखाउँदै बंगलादेशले साफ आयोजना गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजना गर्न प्रस्ताव गरेको हो।

प्रतियोगिताका दुई संस्करण आयोजना गरिसकेको नेपालले साफ समक्ष १० करोड बजेटको प्रतियोगिता आयोजना प्रस्ताव पेश गरेको छ। त्यसमध्ये ५ करोड सरकारले एन्फालाई सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ।

१९९७ र २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको नेपाल आजसम्म प्रतियोगिताको फाइनल पुग्न सकेको छैन। साफमा नेपालको उत्कृष्ट प्रदर्शन भनेको सेमिफाइनल प्रवेश मात्र हो।

साफले अक्टोबरको पहिलो साता प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको छ। जसका लागि नेपालसँगै माल्दिभ्सले पनि प्रस्ताव गरिसकेको छ। भारतले पनि प्रतियोगिता आयोजना गर्न इच्छा जाहेर गरेको छ।

Facebook Comments Box