मैत्रीपूर्ण खेलमा मलेसियन क्लबसँग नेपाल पराजित

सन् २०२२ को विश्वकप फुटबलको दोस्रो चरणको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार राति मलेसियामा भएको खेलमा नेपाली टिम मलेसियाको लिग च्याम्पियन जोहोर दारुल क्लबसँगको १–० ले पराजित भएको हो ।

मलेसियन क्लबसँग नेपाल सुरुवातमै पछि परेको थियो । खेलको तेस्रो मिनेटमै दारुलका निकोलस अल्बर्टो फर्नान्डेजले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

फर्नान्डेजले प्रहार गरेको फ्रिकिक डिफेन्डर देवेन्द्र तामाङको खुट्टामा डिफ्लेक्ट हुँदै पोस्टको दिशा लिएको थियो । प्रतिस्र्पात्मक खेलमा त्यसपछि कुनै गोल नहुँदा नेपाल १–०ले पराजित भयो ।

सुरुवातमै गोल खाए पनि नेपालले संयमित भएर खेलेको थियो । नेपालले गोलका केही राम्रा अवसर बनाए पनि त्यसलाई पोस्टको दिसा दिन सकेन ।

नेपाली टिम मिडफिल्डर सुजल श्रेष्ठको कप्तानी उत्रिएको थियो । नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङको अनुपस्थितिमा सुजल पहिलो पटक कप्तानीको जिम्मेवारी पाएका हुन् ।

नेपालले दारुलविरुद्ध ४–५–१ को फर्मेसनमा टिम उतारेको थियो । नेपालले सुरुवाती ११ मा विलम घर्तिमगरलाई एक्लो स्ट्राइकरको रुपमा उतारेको थियो । १९ भदौमा कुवेतविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सुरुवात गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *