काठमाडौंमा मार्की खेलाडीमा विकेश कुथु, प्रशिक्षकमा बालगोपाल

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर विकेश कुथु पहिलो पटक नेपालमा आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को टिम काठमाडौं रेजर्सको मार्की खेलाडी बनेका छन्।

यस्तै, काठमाडौंले प्रशिक्षकका रुपमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ। मार्की खेलाडी विकेश र प्रशिक्षक बालगोपाललाई बिहीबार एक कार्यक्रम गर्दै काठमाडौं रेजर्सले सार्वजनिक गरेको हो।

स्वामित्व रहेको मोरङ अटो वर्क्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको उपस्थितिमा टिमका कार्यकारी प्रमुख विज्ञानराज शर्माले मार्की प्लेयर विकेश र प्रशिक्षक बालगोपालसँग सम्झौतामा हस्ताक्षर गरे। सम्झौता पछि दुवैले फ्रेन्चाइज लिगमा काठमाडौंसँग जोडिन पाउँदा खुशी लागेको बताए । उनीहरुले प्रतियोगताका लागि आफुहरु उत्साहित भएको पनि बताएका छन् ।

एनएसएलका फ्रेन्चाइज टिममध्ये यसअघि धनगढी एफसीले मिडफिल्डर विशाल राईलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरेको छ । यस्तै ललितपुर सिटी पुटबल क्लबले विंगर अन्जन विष्ट र चितवन एफसीले फरवार्ड भरत खवासलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिसकेको छ ।

प्रतियोगितामा सात प्रदेशका सात टिम सहभागी हुन् छन्। जसमा धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

सहभागी ७ टिमले शुक्रबार हुने अक्सनबाट खेलाडी किन्ने छन् । अक्सनका लागि १ सय ५८ खेलाडीले आफ्ना नाम दर्ता गराएका छन् । अक्सनका लागि खेलाडीलाई तीन क्याटेगारीमा छुट्याइएको छ । जसमा राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका ३५ खेलाडी ए श्रेणीमा छन् भने बी श्रेणीमा ६५ जना र सी श्रेणीमा ५८ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

अक्सनबाट प्रत्येक टिमले २० लागि खेलाडी लिने छन् । एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने एकैपटक दुई खेलाडीमात्र खेलाउन पाउने छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोटर्स एण्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुने छ । प्रतियोगितामा वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.