नेपाल सोझै एएफसी एसिया कप छनोटको अन्तिम चरण पुग्न सफल

नेपालले २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कपको छनोटको अन्तिम चरणमा स्थान पक्का गरेको छ। एसियन फुटबल फेडेरेसन (एएफसी) ले आज (बुधबार) अन्तिम चरणको छनोट खेल्ने २४ मध्ये २२ टिमको नाम सार्वजनिक गर्दा नेपालले सोझै अन्तिम चरणमा स्थान पक्का गरेको हो।

एसियन कप छनोटको दोस्रो चरणका खेलहरु सकिएसँगै एएफसीले आज अन्तिम चरणको विवरण सार्वजनिक गरेको हो । भर्खरै कुवेतमा सम्पन्न दोस्रो चरणको छनोट खेलमा नेपाल आफ्नो समूहको चौथो स्थानमा सिमित भएको थियो ।

जसकारण नेपालले अन्तिम चरण प्रवेशका लागि प्लेअफ पनि खेल्नुपर्ने सम्भावना रहेको थियो। तर, एएफसीले सार्वजनिक गरेको सूची अनुसार नेपाल प्लेअफ नखेलि सोझै अन्तिम चरण प्रवेश गर्न सफल भएको हो।

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल प्लेअफ नखेलि अन्तिम चरणमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन्। उनले फेसबुकमार्फत् सो खबर सेयर पनि गरेका छन्।

अन्तिम चरणको छनोटमा एसियन कप प्रवेशका लागि २४ टिमले प्रतिस्पर्धा गर्नेछन्। सोझै छनोट भएका २२ टिमसँगै प्लेअफबाट आउने दुई टिमले छनोट खेल्नेछन्। प्लेअफमा इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआममध्ये दुई टिम अन्तिम चरणको छनोटमा नेपालसहितका २२ टिमसँग प्रतिस्तपर्धा गर्नेछन्।

सोझै प्लेअफ पुगेका २२ टिमहरुः

स्रोतः एएफसी

यसअघि आयोजक चीन र डिफेन्डिङ च्याम्पियन कतारसहित १३ देशले एसियन कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्।

Facebook Comments Box