
नेपाली महिला फुटबल टिमले बंगलादेशसँग सेप्टेम्बर ९ र १२ मैत्रीपूर्ण खेल खेल्ने
एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। एएफसी महिला एसियन कप छनोटको तयारीका बन्द प्रशिक्षणमा रहेको नेपाली महिला टिमले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले अगामी सेप्टेम्बर ९ र १२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। दुवै खेल दशरथ रंगशालामा हुने छ।
मैत्रीपूर्ण खेलका बंगलादेशको टिम सेप्टेम्बर ६मा काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ। एन्फाले सो खेलका लागि टिकट मूल्य २ सय र ५ सय तोकेको छ। टिकट प्रभु पेबाट काट्न किन्न सकिनेछ।
एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एफमा छ । यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन् । उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८मा खेल्ने छ।
नेपालले छनोटको दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१मा खेल्ने छ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ।
छनोटको समूह एफको छनोट खेल नेपालमै आयोजना हुने तय थियो । अन्तिम समयमा कोरोनाको कारण देखाउँदै छनोट खेल नेपालबाट उज्वेकिस्तान सारिएको हो।