बलियो अस्ट्रेलियासँग भिड्दै नेपाल

विश्वकप र एसिया कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले एसियाली पावरहाउस अष्ट्रेलियासँग खेल्दैछ। कुवेत सिटीस्थित जाबेद अल अहमद अन्तर्राष्ट्रिय रंगशलामा हुने खेल राति ९ः४५ बजे सुरु हुने छ।

छनोटको अन्तिम खेलमा नेपालले आस गर्ने खासै ठाउँ छैन । खेल हार्‍यो भने पनि चित्त दुखाउने अवस्था छैन । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनले नेपाली टिमलाई नयाँ रूप दिएको छ, केही सम्भावना देखाएको छ, यसैलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। उनले पनि प्रिम्याच कन्फ्रेन्समा अस्ट्रेलियाविरुद्ध नतिजाभन्दा प्रदर्शन सुधारमा ध्यान दिने बताएका थिए।

सन् २०२५ को एसियान च्याम्पियन र लागतार ४ पटक विश्वपक खेलेको अस्ट्रेलियाविरुद्ध नतिजाको अपेक्षा गर्नु उचित हुन्न, त्यसै प्रशिक्षकले प्रदर्शन सुधारमा जोड दिएका हुन्। अहिलेको छनोटमा शतप्रतिशत जितसहित अस्ट्रेलिया समूह ‘बी’ को शीर्षस्थानमा छ भने फिफा वरियतामा अस्ट्रेलिया नेपालभन्दा १३० स्थानमाथि छ ।

नेपाली टिम अस्ट्रेलियासँग भएको पहिलो लेगमा ५–०ले पराजित भएको थियो । युरोपेली लिगमा व्यस्त रहेका खेलाडीको वर्चस्व, शारीरिक रूपमा अग्ला र बलिया अनि खेल कौशलमा निकै माथिल्लो स्तरका खेलाडी समावेश टिमको सामना गर्न नेपाली टिमलाई सजिलो हुने छैन ।

जोर्डनविरुद्धको हारसँगै औपचारिक रूपमै विश्वकप छनोटबाट बाहिरिइसकेको छ नेपालको एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी छ। आज हुने खेलमा अस्ट्रेलियालाई स्तब्ध पार्नसके नेपालले समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चारमा रहेर सिधै छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नसक्छ । तर, त्यो असम्भव प्रायः छ । त्यसैले नेपालले तेस्रो चरणको छनोटमा पुग्न प्लेअफको साहरा लिने छ ।

अस्ट्रेलियाविरुद्ध केही नेपाली युवा खेलाडीले डेब्यूको अवसर पाउने छन् । नेपाली टिममा आयुष घलान, सुरज ज्यु ठकुरी, विशाल सुनार, दिप कार्की र कमल थापाले डेब्युको पर्खाइमा छन् । अलमुताइरीले आयुष, सुरज र कमलले अष्ट्रेलियाविरुद्ध पहिलो रोजाइँमा नखेल्ने तर पनि खेल्ने सम्भावना रहेको बताएका थिए । उनले भने, ‘यदी सबै कुरा ठिक भए उनीहरुले खेल्नेछन् । मलाई थाहा छ अष्ट्रेलिया विरुद्ध खेल्न गाह्रो हुनेछ तर उनीहरुले आफ्नो स्तर बढाउन खेल्न आवश्क छ।’

हेर्नुहाेस् नेपाल र अस्ट्रेलियाबीचकाे क्यानबेरामा भएकाे खेलकाे हाइलाइट्स

Facebook Comments Box