चाइनिज ताइपेइविरुद्ध जितको लक्ष्य लिएर मैदान उत्रँदै नेपाल, चुनौती कुवेतको मौसम

विश्वकप र एसियन कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले चाइनिज ताइपेइको सामाना गर्दैछ। समूह बी अन्तर्गतको खेलमा कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपालले ९ः४५ मा चाइनिज ताइपेइको सामाना गर्दैछ।

विश्वकप छनोटको अघिल्लो चरण पुग्ने सम्भावना लभभग सकिए पनि एसियन कप छनोको अर्को चरण पुग्न सम्भवाना बाँकी नै रहेकाले नेपाली टिम जितका लागि मैदान उत्रने छ। चाइनिज ताइपेइको अवस्था पनि नेपालकै जस्तो रहेका उसको लक्ष्य पनि जित नै हुने छ।

जितको लक्ष्य राखेका नेपाल र ताइपेइ दुवै चुनौती भने कुवेतको मौसम हुनेछ । ४५ डिग्रीमाथिको गर्मीमा खेल्नु दुवै टिमका खेलाडीलाई सहज हुने छैन। प्रि–म्याच कन्फ्रेन्समा बुधबार प्रशिक्षक अब्दुल्लाहले पनि कुवेतको मौसमा खेलन त्यति सहन नहुने बताएका थिए ।

उनले भनेका थिए, ‘‘कुवेतको मौसममा खेल्न सजिलो छैन । हामी दुवै टिमलाई गाह्रो हुनेछ ।’ ताइवानी प्रशिक्षक का–नुम भोमले पनि कुवेतको चर्को गर्मी चुनौती बनेको बताएका थिए । उनले आफूहरुको सबैभन्दा ठूलो चुनौती नै मौसम भएको बताएका थिए ।

शनिबार नेपाल र ताइपेइको प्रतिस्पर्धा सुरु हुँदा कुवेत सिटीको तापक्रम ४७ डिग्री सेल्सियस हुनेछ । यस बेला काठमाडौंको तापक्रम २५ डिग्री अनुमान गरिएको छ भने ताइपेईको २७ डिग्री । त्यसैले दुवै टिमलाई कुवेतको गर्मीले समस्या पार्न सक्छ ।

त्यस्तै मौसममा अभ्यस्त हुन र आफ्नो कमजोरी पत्ता लगाउनकै लागि नेपाली टिमले दक्षिण इराकमा खेलेको थियो । बासराको अनुभवले नेपाललाई छनोटमा फाइदा हुनसक्छ । किनभने कुवेत सिटी र बासराको मौसम उस्तै छ । नेपाली टिमले इराकसँग ४५ डिग्री सेल्सियसमाथिको तापक्रममै प्रतिस्पर्धा गरेको थियो ।

नेपालले यो विश्वकप छनोटको पहिलो खेल पनि जाबेर अल हमाद रंगशालामै खेलेको थियो । जहाँ कुवेतविरुद्ध ७–० को अनपेक्षित हार बेहोरेको थियो ।

विश्वपक छनोटकै पहिलो खेलमा ताइपेइलाई उसकै मैदानमा पराजित गरेकाले नेपाल केही उत्साहित छ । त्यसमाथि प्रशिक्षक अलमुताइरीको आगमनपछि नेपाली टिमको मनोबल उच्च छ।

त्यही उच्च मनोबलका साथ कुवेतको चर्को गर्मीमा नेपालले वरीयतामा ३० स्थानमाथिको ताइपेइविरुद्ध प्रतिस्पर्धा गर्दै छ । अघिल्ला पाँच खेलमा नेपालले ४ हार बेहोरेको थियो भने ताइपेइले शतप्रतिशत हार । एसियाली महारथी अस्ट्रेलिया र जोर्डनको सामना गर्नुअघि आत्मविश्वास बढाउन पनि नेपाललाई ताइपेइविरुद्ध जित चाहिएको छ ।

प्रशिक्षक अलमुताइरीले एसियन कप छनोटमा हाम्रो सम्भावनाका लागि ताइपेइलाई हराएर समूहमा चौथो स्थानमा सुरक्षित हुन चाहेको बताए । उनले युवा खेलाडीलाई समय र धैर्य आवश्यक रहेको बताए ।

नेपाल र ताइपेइले हालसम्म दुई खेल खेलेका छन् । त्यो पनि एक मैत्रीपूर्ण र यही विश्वकप छनोटमा । दुवै खेल ताइपेइमा भएको थियो । ६ जुन, २०१९ मा भएको मैत्रीपूर्ण खेल १–१ मा टुंगिएको थियो । पछाडि परेको स्थितिमा सुधार गर्दै नेपालले अभिषेक रिजालको गोलमा बराबरी गरेको थियो । १० सेप्टेम्बर, २०१९मा अञ्जन विष्टको दुई गोलमा नेपालले विश्वकप छनोटमा ताइपेइलाई २–०ले हराएको थियो ।

Facebook Comments Box