३२ वर्षपछि हङकङसँग भिड्दै नेपाल, लक्ष्य जित

एएफसी महिला एसियन कप छनोट खेल्ने उज्वेकिस्तान पुगेको नेपाली महिला फुटबल टिमले आज हङकङको सामाना गर्दैृ छ। खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

३२ वर्षपछि हङकङसँग भिड्दै नेपाली टिमको लक्ष्य जित नै हुनेछ । एसियन कपमा छनोटको लक्ष्य लिएको नेपालीलाई त्यसको सम्भावना जीवितै राख्न निश्चित जित आवश्यक छ।

नेपाल र हङकङले २ पटक मात्र भीडेका छन्। ती दुवै खेलमा नेपाल पराजित भएको छ। सन् १९८६ मा १–०ले पराजित भएको नेपाल सन १९८९ मा ३–०ले पराजित भएको थियो।

पहिलो खेलमै शनिबार फिलिपिन्ससँग हारेपछि लक्ष्यमा पुग्न नेपाललाई कठिन भएको छ । विमला चौधरीको गोलमा दसौं मिनेटमै अग्रता लिएर पनि नेपाली टिम अन्त्यतिर सम्हालिन नसक्दा २–१ ले हारेको थियो । फिफा वरीयतामा ३३ स्थानमाथिको प्रतिस्पर्धीले ९० र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेको थियो ।

नेपाली टिमले फिलिपिन्सविरुद्ध गरेको प्रदर्शनको आधारमा मंगलबार हङकङविरुद्ध राम्रो नतिजा अपेक्षा गर्नसक्ने ठाउँ दिएको छ । तीन देश समावेश छनोटको समूह एफमा हङकङ पहिलोपल्ट मैदानमा उत्रन लागेको हो । त्यसैले नेपाली टिमलाई फिलिपिन्सविरुद्ध त्यही मैदानमा खेलेको अनुभवको पनि फाइदा हुनसक्छ ।

फिलिपिन्सविरुद्ध पराजित भएकाले हङकङविरुद्धको जितले मात्रै एसियन कप खेल्ने नेपालको सम्भावना कायम राख्नेछ । यस्तो परिस्थितिमा समूहका तीनै टिमले बराबरी अंक बनाएको अवस्थामा नेपाल शीर्षस्थानमा रहन सक्छ ।

बराबरी वा हारको नतिजाले नेपालको यात्रा छनोटमै अन्त्य गर्नेछ । हङकङको भने सबै नतिजामा एसियन कप खेल्ने सम्भावना खुला हुनेछ । किनभने टोलीले अन्तिम खेलमा ३ अंक जोडिसकेको फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टिम एसियन कप २०२२ मा छनोट हुनेछ ।

Facebook Comments Box