
४ वर्षपछि भारतसँग भिड्दै नेपाल, नेपालले निकाल्ला त भारतविरुद्ध जित ?
फुबटलमा नेपाल र भारत चीरपरिचित प्रतिद्वन्द्वी हुन्। यी नै दुई चीरपरिचित प्रतिद्वन्द्वी बिहीबार साँझ मैत्रीपूर्ण खेलमा भिड्दै छन्। आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि आयोजना गरिएको मैत्रीपूर्ण खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ।
नेपाल र भारत ४ वर्षपछि आमने सामने हुन लागेका हुन्। यी दुई टिमले अन्तिम पटक सन् २०१७को जुन ६मा खेलेको थिए । सोल खेल भारतले २–०ले जितेको थियो।
तर, नेपालले घरेलु मैदानमा ६ वर्षपछि भारतसँग खेल्न लागेको हो। सन् २०१५मा भएको विश्वकपको दोस्रो लेगमा नेपाले दशरथ रंगशालामा भारतको सामाना गरेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।
नेपाल र भारत अहिलेसम्म १९ पटक भिडेका छन्। जसमध्ये १३ खेलमा भारत विजयी हुँदा नेपाल दुई खेलमा मात्र विजयी भएको छ । ४ खेल भने बराबरीमा सकिएको छ।
भारतविरुद्ध नेपालले सन् १९९८ को एसियन गेममा १–० र सन् २०१३ को साफ च्यामिपयनसिपमा २–१ जित निकालेको थियो । भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ। नेपालले भने ९ गोल मात्र गर्न सकेको छ। दुई देशको प्रतिस्पर्धामा सुनील क्षेत्री बढी गोल गर्ने खेलाडी हुन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन्।
त्यसैले अब्दुल्लाह अलमुतारीका प्रशिक्षणमा रहेको नेपाली टिम भारतविरुद्ध दोस्रो जित निकाल्ने दाउमा छ। तर, त्यो त्यति सहज भने हुने छैन। किनभने भारत बलियो प्रतिद्वन्द्वी हो।
प्रशिक्षक अल्मुतारीले पनि यसलाई स्वीकार गरेका छन्। बुधबार भएको पोस्टम्याच कन्फ्रेन्समा मुताइरीले भारतविरुद्ध जित निकाल्न त्यति सहज नभएपनि जित नै मुख्य लक्ष्य भएको बताएका थिए।
साफ च्याम्पियनसिपको तयारीका लागि २ महिनादेखि नेपाली टिम बन्द प्रशिक्षणमा रहेकाले पनि नेपालले भारतविरुद्ध जितको लक्ष्य बनाएको छ। यता, भारतीय टिममा धेरै नयाँ खेलाडी रहेकाले पनि नेपाललाई केही सहज हुनसक्छ।
यता, नेपाली टिमलाई भने अनुभवी डिफेन्डर रोहित चन्दको अभाव खड्किने छ। इन्डोनेसियामा लिग खेलिरेकाले रोतिहले भारतविरुद्ध मैत्रीपूर्ण खेल गुमाएका हुन्। यता भारत भने २ साताको तयारी पछि नेपाल आएको हो।
यस्तो छ टिम
नेपाली टिमः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान, मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा ।
भारतीय टिमः अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सिन्ध, प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस, ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी ।