यस्तो छ जोर्डनविरुद्ध नेपालको लाइनअप, विकास, दिनेश र अभिषेकलाई मौका, सुमन अर्याल मिडफिल्डमा

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिमको लाइनअप सार्वजनिक गरेका छन् । प्रशिक्षक अलमुताइरीले बलियो जोर्डनविरुद्ध नेपाली टिमको लाइनअपमा तीन परीवर्तन गरेका छन्।

प्रशिक्षक मुताइरीले डिफेन्समा विकास खवास र दिनेश राजवंशीलाई सुरुआतमै मौका दिँदा स्ट्राइकिङमा पनि अभिषेक रिजाललाई मौका दिएका छन्। यी तीनै खेलाडी इराकविरुद्धको मैत्रीपूर्ण र चाइनिज ताइपेइविरुद्धको खेलमा सुरुआती लाइनअपमा परेका थिएनन् । ताइपेइविरुद्ध खेलका आषिश लामा, सुनिल र गौतम श्रेष्ठले भने यो पटक मौका पाएनन्।

यस्तै, अलमुताइरीले जोर्डनविरुद्ध सुमन अर्याल र सुमन लामको पोजिसन पनि परिवर्तन गरेका छन्। अघिल्ला दुई खेलमा राइटब्याकका रुपमा खेलिरहेका सुमन अर्याललाई मिडफिल्ड र मिडफिल्डमा खेलिरहेका सुमन लामालाई विंगरका रुपमा जोर्डनविरुद्ध अलमुताइरीले मैदान उतारेका छन्।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टिममा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र विकास खवास डिफेन्डरका रुपमा रहेका छन् । यस्तै, सन्तोष तामाङ, पुजन उपरकोटी र सुमन अर्याल मिफिल्डरका रुपमा रहँदा सुमन लामा, अभिषेक रिजाल र अञ्जन विष्टले स्ट्राइकिङको जिम्मा पाएका छन्।

समूह बी अन्तर्गतको नेपाल र जोर्डनबीचको कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

Facebook Comments Box