बन्द प्रशिक्षणका लागि कतार जाने राष्ट्रिय फुटबल टिमको विदाई

नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा १५ दिन बन्द प्रशिक्षण गर्ने भएको छ। बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको आज (बिहीबार) एक कार्यक्रम आयोजना गर्दै विदाई गरिएको छ।

साफ च्याम्पियनसिपको तयारीका रुपमा नेपालले कतारमा बन्द प्रशिक्षण गर्ने भएको हो। नेपाली टिम भोली कतार प्रस्थान गर्ने भएको छ। राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने सोमबार नै कतार गइसकेका छन्।

खेलाडीको विदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीलगायत उपस्थित थिए। प्रशिक्षणका क्रममा नेपाली टिमको खाने तथा बस्ने व्यवस्था कतार फुटबल संघले गर्ने बताउँदै अध्यक्ष शेर्पाले धन्यवाद पनि ज्ञापन गरेका छन्।

कतारमा प्रशिक्षण सकाएर नेपाली टिम साफ च्याम्पियन्सिपमा सहभागी हुन सिधै माल्दिभ्स प्रस्थान गर्नेछ।

नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग १५ असोजमा खेल्ने छ भने दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्ने छ। यस्तै, २४ असोजमा हुने तेस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ भने बंगलादेशसँग २७ असोजमा खेल्नेछ।

Facebook Comments Box