म्यानमारसँग दुई मैत्रीपूर्ण खेलमा सहभागी हुने टोलीलाई सोमबार बिदाइ गरिएको छ।
म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका थिए।
विदाई कार्यक्रममा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोे एनेसले प्रतियोगीताका लागि नेपाल टोलीका सबै खेलाडी फिट रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे। आगामी दिनमा हुने ठूला छनौट प्रतियोगीताका लागि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उनको भनाइ छ।
त्यस्तै डिफेन्डर अनन्त तामाङले म्यानमारसँग खेल्नका लागि नयाँ खेलाडीहरु पनि तयार भएको र राम्रो खेल प्रदर्शन गर्ने बताए।
टिम नेपालमा सात नयाँ अनुहार छन् जसमा छिरिङ लामा, आशिष गुरुङ, अञ्जन राई, उत्सव राई, दिनेश हेन्जन, जिलेप्सीजंग कार्की र हिसुब थपलिया रहेका छन्।
नेपालले अबको विश्वकप र एसिया कप छनोटको तयारीका रूपमा यी दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। प्रारम्भिक छनोटमा नेपालले लाओसको सामना गर्ने पनि निश्चित भइसकेको छ। घोषित टिममा किरण लिम्बू, अभिषेक बराल, दीप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द छन्।
यस्तै, टिममा परेका अन्य खेलाडीमा एरिक विष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिश छुन्जु, आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डाँगी र आशिष चौधरी रहेका छन्।