फुटबलराष्ट्रिय फुटबल

म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टिम

विश्वकप छनोटको तयारीका लागि म्यानमार पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपाल र म्यानमारबीचको पहिलो खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।

नेपाली टिम केही दिनअघि दुई मैत्रीपूर्ण खेल खेल्न म्यानमार पुगेको थियो। विश्वकप छनोटको तयारी गरिरहेको नेपालले फिफा विन्ड‍मा म्यानमारसँग २ मैत्रीपूर्ण खेल खेल्ने छ।

फिफा वरीयतामा म्यानमार १६० औं स्थानमा र नेपाल १७५ औं स्थानमा छ। नेपाल र म्यानमारबीच अहिलेसम्म २ खेल भएकामा दुवैमा नेपालले हार बेहोरेको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस ७ नयाँ खेलाडीसहितको २३ सदस्यी टिम लिएर म्यानमार पुगेका छन्। राष्ट्रिय टिमका नियमित सदस्य निशान खड्का, पुजन उपरकोटी र दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन भएको र विमल घर्तिमगर र देवेन्द्र तामाङलाई बाहिर राख्दै मुख्य प्रशिक्षक एनेसले नयाँ खेलाडीलाई टिममा राखेका हुन्।

अधिकांश नयाँ खेलाडी रहेको नेपाली टिममा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ र अञ्जन विष्टजस्ता अनुभवी खेलाडी पनि छन्।

नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ।