नेपाली फुटबल टिमले थाइल्यान्डमा तयारी गर्ने

नेपाली राष्ट्रिय फुटबल टिमले इन्डोनेसियामा हुने १८औं एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने भएको छ । एसियन गेम्सको तयारीका लागि नेपाली टिम साउन दोस्रो साता थाइल्यान्ड जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपालले थाइल्यान्डमा त्यहाँको टिमसँग अभ्यास खेल खेल्ने पनि एन्फाले जानकारी दिएको छ । नेपाली टिम साउन १५ देखि १९ गते भित्रमा थाइल्यान्ड पुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

यसअघि एसियन गेम्समा समूह ’डी’ मा नेपाल, जापान, भियतनाम र पाकिस्तान एकै समूहमा थिए । एसियन गेम्समा केही देशको सहभागिता ढिला निश्चित भएकाले फेरि ‘ड्र’ गरिने छ । पुनः निकालिएको ‘ड्र’मा नेपाल र थाइल्यान्ड एउटै समूहमा नपरे नेपालले थाइल्यान्डको यू–२३ टिमसँग २ वटा अभ्यास खेल खेल्ने पनि प्रवक्ता राईले जानकारी दिएका छन् ।

एसियन गेम्सका लागि नेपाली टोलीका घोषणा भइसकेको छ । घोषित टोलीमा किरणकुमार चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ गोलकिपर छन् भने डिफेन्डरमा अनन्त तामाङ, आदीत्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् । त्यसैगरी मिडफिल्डको जिम्मा रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङले पाएका छन् भने फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर छन् ।

एसियन गेम्समा मूलतः यू–२३ टिमले प्रतिस्पर्धा गर्छन् । तर, बढीमा ३ जना यू–२३ माथिका खेलाडी पनि राख्न पाउने प्रावधान रहेकाले गोलकिपर किरण चेमजोङ, रोहित चन्द र भरत खवासले पनि टिममा स्थान बनाएका हुन् ।

यू–२३ टिम भएपनि नेपाली टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता छ । त्यसलै एसियन गेम्सलाई नेपालले साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ ।

आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा नेपालले फुटबलसहित २७ खेलमा भाग लिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP