प्रशिक्षक ग्यारी फिलिप्स भन्छन्– नेपाली टिममा सावित्राको अभाव खड्कने छ

एएफसी महिला एसियन कप छनोटको तयारीमा नेपाली राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्दै छ। नेपालले बिहीबार दशरथ रंगशालमा बंगलादेशसँग पहिलो खेल खेल्दै छ ।

नेपाली महिला टिम लामो सयमपछि आफ्ना प्रमुख स्ट्राइकर सावित्रा भण्डारी बिना मैदान उत्रँदै छ। सावित्रा नहुँदा टिममा उनको अभाव खड्किने राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन् । उनले सावित्रा टिममा नहुँदा त्यसको फाइदा अन्य खेलाडीले लिन सक्नु पर्ने बताए।

‘नेपाली टोली सावित्रामा निर्भर हुने गरेको थियो। उनी टोलीमा नहुनु एकदमै ठूला घाटा हो,’ बंगलादेशविरुद्धको खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक फिलिप्सले भने, ‘तर, उत्कृष्ट प्रदर्शन गरेर सावित्राको स्थान लिने अर्को खेलाडीलाई उत्कृष्ट मौका छ । सावित्राको स्थान कसले लिन्छ भन्नेमा सम्पूर्ण देशको चासो हुन्छ। त्यसले खेलाडीलाई मानसिक दबाब पनि हुनेछ ।’

एएफसी महिला एसियन कप २०२२ मा छनोटका लागि घोषित २३ जना खेलाडी नै बलिया भएको प्रक्षिक फिलिप्सले बताए। बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेनमा उनले टोलीमा अनुभवीका साथै ७ नयाँ युवा खेलाडीको समिश्रण रहेकाले सबै खेलाडी बलिया रहेको बताएका हुन्।

प्रशिक्षक फिलिप्सले करिब तीन सातादेखि बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गरिएको छ। यसपटक प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर गरी ७ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

प्रशिक्षक फिलिप्सले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल खेल्नु विश्वभर नै चुनौतीपूर्ण रहेका बेला नेपालले खेल्न पाउनु राम्रो अवसर रहेको पनि बताए। उनले कोरोना भाइरस तथा चोटका कारण तयारी प्रभावित भए पनि मैत्रीपूर्ण खेल र छनोटका लागि नेपाल तयार भएको छ । उनले बंगलादेशसँगको खेलले धेरै फाइदा हुने बताए ।

यसैगरी बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्रा भण्डारी अनुपस्थितिले नेपाली टोलीसँग खेल्दा डिफेन्डरलाई दबाब महसुस नहुने बताए। उनले भने, ‘सावित्रा दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्। उनी भोलिको खेलमा नहुनु दुःखद् कुरा हो। तर, हाम्रा डिफेन्डरलाई नेपाली टोलीमा सावित्रा नहुँदा कम दबाब महसुस हुनेछ।’

Facebook Comments Box