म्याच प्रिभ्यूः दाबेदार नेदरल्यान्ड्सलाई अण्डरडग चेक रिपब्लिकको चुनौती

युरोकप २०२० अन्तर्गत क्वार्टरफाइनल प्रवेशका लागि दाबेदार नेदरल्यान्ड्सले आज अन्डरडगका रुपमा नकआउट प्रवेश गरेको चेक रिपब्लिकको सामना गर्दैछ। हंगेरीको बुडापेस्टस्थित फ्रेन्च पुस्कास स्टेडियममा राती ९ः४५ बजे खेल हुनेछ।

समूह ‘सी’को विजेतका रुपमा प्रिक्वार्टरफाइनल प्रवेश गरेको नेदरल्यान्ड्सले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलमा स्पष्ट ९ अंक ल्याएको थियो। पहिलो खेलमा युक्रेनविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको नेदरल्यान्ड्स बाँकी खेलमा अष्ट्रियालाई २–० र नर्थ मेसेडोनियालाई ३–० ले पराजित गरेको थियो।

समूह ‘डी’मा रहेको चेक रिपब्लिक भने तेस्रो स्थानमा रहँदै नकआउट प्रवेश गरेको हो। समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले पराजित गरेको चेकले दोस्रो खेलमा क्रोएसियालाई १–१ को बराबरीमा रोक्न सफल भएपनि इंग्ल्यान्डसँग भने १–० ले पराजित भएको थियो।

तीन खेलमा ४ अंक ल्याउँदै चेकले तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा नकआउट प्रवेश गर्दै नेदरल्यान्ड्ससँगको भेट निश्चित गरेको थियो।

नेदरल्यान्ड्स भर्सेस चेक रिपब्लिक हेड टु हेड

यी दुई टिमबीच भएको पछिल्ला दुई खेलमा दुवै टिमले एक खेल जितेका छन् भने एक खेल हारेका छन्। पछिल्लोपटक अक्टोबर २०१५ मा आमनेसामने हुँदा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गरेको थियो।

युरोकपमा भने यो दुई देशको तेस्रो भिडन्त हो। यसअघिका दुई खेलमा दुवै टिमले एक–एक जित निकालेका थिए। पछिल्लोपटक २००४ को युरोकपमा आमनेसामने हुँदा चेक रिपब्लिकले २–० ले पछाडी परेको अवस्था उल्टाउँदै ३–२ ले खेल जितेको थियो।

एकअर्कालाई कडा टक्कर दिन माहिर दुई टिमबीचको यो नकआउट समीकरण निकै रोमाञ्चक हुनेछ। युवा खेलाडीले भरिपूर्ण दुवै टिम अहिले उत्कृष्ट लयमा छन् भने दुवैले आक्रामक फुटबल खेल्छन्।

Facebook Comments Box